तिहारका लागि अघिल्लो वर्ष भन्दा ५०% कम विद्युतीय बत्तिको आयात, २५% सम्म मूल्य बढ्ने

0
Shares

तिहारका लागि अघिल्लो वर्षको तुलनामा यो वर्ष पचास प्रतिशत कम विद्युतीय बत्ति आयात भएपछि घर आँगन झिलिमिली पार्न उपभोक्ताले अघिल्लो वर्षभन्दा २५ प्रतिशतसम्म बढी रकम खर्चनुपर्ने भएको छ ।

नेपाल विद्युतीय व्यवसायी महासंघका महासचिव कोमल पोखरेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष विद्युतीय (झिलीमिली) बत्तिको मूल्य बढ्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ, इन्धनको मूल्य वृद्धिका कारण यो वर्ष गत वर्षको तुलनामा झिलीमिली बत्तिको मूल्य बढ्ने भएको हो । गत वर्षको तुलनामा यस वर्ष विद्युतीय (झिलीमिली) बत्तिको मूल्य बढ्ने भएको हो ।

यस वर्ष देशभरका लागि ३५ करोड भन्दा बढी रकमको विद्युतीय बत्ती आयात भएको छ । जुन गत वर्षको तुलनामा ५० प्रतिशत कम हो ।

महासचिव पोखरेलका अनुसार उत्पादन हुने ठाउँमा नै मूल्य बढेपछि त्यसको असर नेपालमा पनि पर्ने भएकाले झिलिमिली बत्तीको बजार भाउ महँगो हुने भएको हो । गत वर्षको तुलनामा यो वर्ष २० देखि २५ प्रतिशतको हाराहारीमा मूल्य बढेको पोखरेलले बताए ।

नेपालमा अधिकांश विद्युतीय बत्ती (झिलिमिली) चीन, केही भारतबाट र नगन्य मात्रमा इन्डोएसिया, थाइल्यान्ड, मलेसिया लगायतका देशहरुबाट आयात हुने गरेको छ ।  पछिल्लो केही वर्षयता लोडसेडिङ हटेपछि विद्युतीय बत्ती बाल्नेको संख्या बढ्दै जान थालेको छ । शहर बजार तथा गाउँघरमा आजकाल यस्ता बत्तीहरु ज्यादा खपत हुन थालेको छ । अझै लोडसेडिङको समस्या हटेपछि विद्युतीय बत्तिमा मानिसहरुको आकर्षण अत्यधिक रहेको पाइन्छ ।

तिहार भन्ने बित्तिकै प्राय मान्छेको मस्तिष्कमा झिलिमिली बत्तिको झल्को आइहाल्छ । तिहारको समयमा गाउँदेखि सहर बत्तिको झिलिमिलीले चम्किएको हुन्छ । तिहारमा बिजुली बत्ति नहुँदा तथा लोडसेडिङको समयमा प्रायः दियो तथा मैनबत्ती बाल्ने प्रचलन थियो । माटाका पाला, मैनबत्ती, केराको सुप्लामा बालिने कपास, धागोको बत्तिले घर आगन झिलिमिली बनाइने गरिन्थ्यो । तर पछिल्लो समय आयातित झिलिमिली बत्तिको प्रयोगको हिस्सा उच्च छ ।

आयात हुने झिलिमिली बत्ति ६० प्रतिशत संघीय राजधानी काठमाण्डौंमा नै खपत हुने गरेको छ भने बाँकी देशका अन्य जिल्लाहरुमा खपत हुन्छ । आयात हुने बत्ति तिहारका लागी पुग्दो आए तिहारमा र बढी भए अन्य समयहरु जस्तै, अंग्रेजी नयाँ वर्ष, छठ, नेपाली नयाँ वर्षमा, विवाह तथा ब्रतबन्धमा खपत हुने गरेको छ ।

यस वर्ष झिलिमिली बत्तीको आयात कम भएपछि बजारको माग धान्न मुस्किल पर्ने अवस्था रहेको नेपाल विद्युत व्यवसायी महासंघका अध्यक्ष सुदर्शन प्रसाद पौडेलले बताए । 

“हामीले तिहारका लागी चाहिने विद्युतीय बत्ती साढे तीन महिना पहिला अर्डर प्लेस गर्नुपर्ने हुन्छ । त्यस समय लकडाउन होला भन्ने त्रास थियो ।” अध्यक्ष पौडेलले भने, “व्यवसायीहरुमा पनि उपभोक्ताको खरिद गर्ने क्षमता कम भयो कि भन्ने महसुस भएको थियो । त्यसकारण गत वर्षको तुलनामा आयात कम भएको हो ।”

तिहारमा बालिने झिलीमिली बत्ती ६० देखि ४ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ कार्तिक २०७८, शुक्रबार  १५ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।