देशकै ठूलो मानव निर्मित भरत ताल घुम्न आन्तरिक पर्यटकको घुइँचो

0
Shares

सर्लार्ही जिल्लाको वागमती नगरपालिकामा निर्मित देशकै ठूलो मानव निर्मित भरत तालमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ ।  पूर्वपश्चिम लोकमार्गदेखि करिब तीन किलोमिटर दक्षिणतर्फ वागमती नगरपालिका १२ मा निमार्ण गरिउको तालमा हालसम्म ६० करोड रुपैयाँ खर्च भइसकेको छ । भरत ताल १२१ विघा क्षेत्रफलमा निर्माण गरिएको छ ।

चुरेकै काखमा रहेको उक्त तालमा ३५ सिट क्षमता भएको नेपालकै पहिलो जेटबोट सञ्चालन गरिएको छ । ताल पूर्ण रुपमा निमार्ण हुन अझै केही महिना लाग्ने भएपनि तालको सुन्दर दृष्य, तालपारी देखिने चुरे पर्वत, तालमा पौडिँदै गरेका हाँस र तालमा सरर हिँडिरहेका मोटरबोटले पर्यटकको मन भुतुक्कै बनाउँछ ।

तालमा घुम्न आउने पर्यटकको चाप अहिले नै बढ्न थालिसकेको छ । अहिले तालमा फोटो खिच्ने, टिकटक बनाउने, बोटमा यात्रा गर्ने तथा ताललाई नजिकबाट नियाल्दै खाजा खाने, साथीभाई भेट्ने तथा रमाइलो गर्ने पर्यटकको संख्या बढी छ ।  सो ताल प्रदेश नं २ को पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै आएको छ । तालमा विभिन्न ठाउँबाट दैनिक २ हजार ५०० हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका छन् ।

ताल घुम्न आएका प्रकाश दाहाल भन्छन्, २०० रुपैयाँको टिकट काटिसकेपछि “पोखरामा साइँली डुङ्गा सलल….” भन्ने गीतको सम्झना आयो । बोट चढ्न पोखरा नै जानुपर्छ जस्तो लाग्थ्यो, अहिले त यतै सरर ।  बिदाको दिन होस् या चाडवाडको समय भरत ताल व्यस्त नै देखिन्छ । उक्त तालको सौन्दर्य बढाउनका लागि हाँस समेत पालिएको छ । तालमा पौडिने हाँसको दृष्यले पर्यटकको मन झनै लोभिने गरेको छ ।

 

वागमती नगरपालिकाका मेयर भरत कुमार थापाले अबको तीन चार महिनामा ताल निमार्णको काम सम्पन्न गरिने बताए । तालले गर्दा पर्यटकको आगमन त छँदै छ पूर्ण रुपमा ताल निमार्ण भइनसक्दै धेरैजनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी समेत पाएका छन् । मनोरञ्जनका लागि तालमा ५ वटा बोट राखिएको छ भने अझै ५ वटा बोट थप गरिने मेयर थापाले जानकारी दिए । तालमा सजवट र रिसोटहरुको काम केही महिनामा सम्पन्न हुनेछन् । तालको सम्पूर्ण काम सकिएपछि उक्त तालमा पनि टिकट सिस्टम लागू गरिने छ ।

१२१ विद्यामा निमार्ण गरिएको उक्त तालको गहिराई १० फिटदेखि ४० फिटसम्म रहेको छ । जोखिम रहेकाले उक्त तालमा मानिसहरुलाई पौडी खेल्न र माछा मार्न निषेध गरिएको छ । साथै केही समयपछि उक्त तालमा माछा पालन पनि गरिने योजना छ ।

भरत ताल वागमती नगरपालिकाको मात्र नभई अहिले सर्लार्ही जिल्ला कै सान बनेको छ । यो तालमा अहिले त नेपालमै बनेको मोटरबोट मोटरबोट सरर कुद्छ । तालमा सौन्दर्य र रिसोर्ट लगयतका काम सकिएपछि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा स्थानीयहरुलाई रोजगारी अवसर समेत प्राप्त हुनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ कार्तिक २०७८, शुक्रबार  १७ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।