एससीटीको अध्यक्षमा सुमन पोखरेल

0
Shares

नेपालको पहिलो एटीएम कार्ड सुविधा प्रदान गर्ने कम्पनी स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) को सञ्चालक समितिको अध्यक्ष पदमा सुमन पोखरेल नियुक्त भएका छन् ।

उनलाई गत कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

नवनियुक्त अध्यक्ष पोखरेलले आज नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका बीच डेपुटी गर्भनर डा. नीलम ढुंगाना तिम्सिनाबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै डेपुटी गर्भनर तिम्सिनाले यस क्षेत्रमा कार्यरत कम्पनीहरुले सुरक्षा संवेदनशीलता, कारोबारको गोपनियता र नीतिगत व्यवस्थाको परिपालनामा ध्यान दिनुपर्नेमा जोड दिइन्। यसका साथै मूलुकको डिजिटल इकोसिस्टमको विकासमा सबै पक्षको सहयोग र सहभागिता जरुरी रहेको उल्लेख गर्दै उनले नेपाल राष्ट्र बैंक र यस क्षेत्रमा कार्यरत संस्थाहरुको सहकार्यबाट मात्र प्रगति सहज हुने बताइन् ।

कार्यक्रममा अध्यक्ष पोखरेलले आधुनिक भुक्तानी प्रणालीको विकासमा नेपाल राष्ट्र बैंकको विद्युतीय भुक्तानीलाई प्रवर्द्धन गर्दै जाने नीतिअनुसार नयाँ सेवा तथा सुविधा प्रदान गरी यस क्षेत्रको विकासका लागि सधैँ अग्रसर रहने र नेपाल राष्ट्र बैंकबाट प्राप्त हुने निर्देशन तथा मार्गदर्शनलाई पूर्ण पालना गर्दै अघि बढन प्रतिबद्घता व्यक्त गरे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल, निर्देशक निश्चल अधिकारी, उपनिर्देशक तीर्थ ओझाका साथै एससीटीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुको उपस्थिति थियो ।

एससीटी बैंकिङ क्षेत्रमा भुक्तानीसम्बन्धी कार्यलाई सहज बनाउने उद्देश्यले सन् २००१ मा स्थापना भई सन् २००३ देखि सञ्चालनमा आएको नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा सञ्चालक (पीएसओ) को इजाजतपत्र प्राप्त कम्पनी हो । विभिन्न बैंक तथा वित्तीय संस्थाहरु यसका प्रवर्द्धक रहेका छन् ।

यस कम्पनीको सेवा २५ वटा बैंक तथा वित्तीय संस्थाहरुमार्फत प्रवाह भइरहेको छ। कम्पनीले भुक्तानीको कार्यलाई थप सहज बनाउन बैंकिङ कार्डको अलावा डिजिटल पेमेन्ट प्लेटफर्म, स्मार्ट क्यूआर, डिजिटल बैंकिङ सर्भिस र पेमेन्ट गेटवेको सेवासमेत उपलब्ध गराउँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ कार्तिक २०७८, बिहिबार  १३ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।