कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ७ पिताम्बरका हिक्मत चौधरी माछापालन गरेर मनग्य आम्दानी गर्दै आइरहेका छन् । उनले माछा र भुरा बेचेर वार्षिक ८ लाख भन्दा बढी आम्दानी गर्ने गरेको बताएका छन् ।
दुई बिघा जग्गामध्ये एक बिघा जग्गामा निर्माण गरिएका चारवटा पोखरीमा उनले माछापालन गर्दै आइरहेका छन् । चौधरीका अनुसार तीन वटा पोखरीमा भुरा र एउटा पोखरीमा माछा उत्पादन गरी बेच्ने गरिएको छ ।
विगत तीन वर्षदेखि व्यावसायिक रुपमा माछापालनमा लागेका चौधरीले पोखरी निर्माणमा ३ लाख रुपैयाँ खर्च गरेका छन् । माछाका भुरा र दाना खरिदका लागि वार्षिक दुई लाख ५० हजार रुपैयाँ खर्च लाग्ने गरेको छ ।

चौधरीले चालु वर्षको हाल सम्म १ लाख ५० हजार रुपैयाँमा पाँच क्विन्टल माछा र छ लाख रुपैयाँ बराबरको माछाका भुरा बिक्री गरिसकेका छन् । “मत्यस्यपालन केन्द्र गेटाबाट माछाका ह्याच (भुरा) ल्याएर आउछौं”, चौधरीले भने, “पोखरीमा केही दिन हुर्काएर फिङ्गर साइजका बनाएर माछापालक किसानलाई बिक्री गर्दैआएका छौं ।”
चौधरीले पोखरीमा हुर्काएका माछाका भुरा कञ्चनपुरदेखि कैलालीसम्म बिक्री हुने गरेको छ । खाने माछा स्थानीय बजारमै खपत हुने गरेको छ । माछा र माछाका भुरा पोखरीबाटै व्यापारीले आएर नगदमै खरिद गर्ने गरेका छन् । “पहिला आठ नौ वर्षअघिदेखि परम्परागत तरिकाले एउटा पोखरीमा मात्रै माछापालनको कार्य गर्दै आएका थियौं”, उनले भने, “घरमा खानका लागि पनि मुस्किल हुन्थ्यो । माछा हुर्कदैन्थ्यो । केही हुर्के पनि पोखरीमै मर्ने गरेका थिए ।”
माछापालनका आधुनिक तरिका सिकेपछि हाल माछाको उत्पादन बढाउन सकिएको उनको भनाइ छ । भुरासमेत हुर्काएर बेच्न थालेपछि आम्दानी चाहेजस्तै हुँदै आएको चौधरीलले बताएका छन् । पहिला माछापालनका लागि परम्परागत रुपमा बनाइएको एउटै पोखरी बाहेक अन्य जग्गामा अन्नबाली लगाउने गरिएको थियो ।
अन्नबालीबाट वर्षमा मुस्किलले रु ३० हजार मूल्य बराबरको मात्रै उत्पादन हुने गरेको थियो । व्यवसायिक रुपमा माछापालन सुरु गरेपछि आम्दानी बढ्दै गएको हो ।
चौधरीले पोखरी बनाइ बाँकी रहेको जग्गामा व्यावसायिक रुपमा आलुखेती गर्दै आएका छन् । कार्डिनल जातको आलुखेती गर्दै आएका चौधरीले प्रतिवर्ष १२० क्विन्टल आलु उत्पादन गर्ने गरेका छन् । माछा पालन मात्र नभइ आलु उत्पादन तथा बिक्री गरेर पनि उनले थप आम्दानी हात पार्छन् ।
यसवर्ष बेमौसमी वर्षाका कारण चौधरीले आलु रोप्न पाएका छैनन । समयमै आलु रोप्न नपाउँदा उत्पादन घट्छ कि भन्ने चिन्ता रहेको छ । माछाका भुरा र आलु बिक्रीको रकमबाट चौधरीले दुई छोरालाई काठमाडौँमा राखेर उच्च शिक्षा पढाउँदै आइरहेका छन् ।
माछाका भुरा र आलु बिक्रीको रकमले सिँचाइका लागि बोरिङ, खेत जोत्नका लागि ट्र्याक्टरसमेत खरिद गरिसकेको चौधरी बताउँछन् ।
“भविष्यका लागि केही रकम बैंकमा बचत गर्ने कार्यसमेत हुँदै आएको छ” उनले भने, “जोखिमबाट जोगिनका लागि जीवन बीमा समेत गराएका छौं । आलुखेती र माछाको समेत बीमा गर्ने योजना छ ।”
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया