चार महिनामा ५ प्रतिशत पनि पुगेन विकास खर्च, वैदेशिक अनुदान शुन्य

0
Shares

सरकारले चालु आर्थिक वर्षको चार महिनाको अवधिमा ५ प्रतिशत पनि विकास खर्च गर्न सकेको छैन । अर्थमन्त्री जनार्दशन शर्माले मासिक १० प्रतिशतका दरले विकास खर्च गर्ने घोषणा गरेको भएपनि विकास खर्च हुननसक्ने पुरानै थिति दोहोरिएको छ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालु वर्षको चार महिनामा २० अर्ब ६८ करोड २४ लाख मात्रै विकास खर्च भएको छ। जुन चालु आवको लक्ष्यको ४.७३ प्रतिशत मात्र हो । चालु आवमा सरकारले ४ खर्ब ३९ अर्ब ६५ करोड ९ लाख रुपैयाँ विकास खर्च गर्ने लक्ष्य राखको छ ।

सरकारले चालु शिर्षकमा भने २ खर्ब ३२ अर्ब २१ करोड ५६ लाख खर्च गरिसकेको छ। जुन लक्ष्यको २३.२६ प्रतिशत हो । सरकारले चालु आवमा चालुतर्फ १० खर्ब ३ अर्ब खर्च गर्ने लक्ष्य राखेको छ । यसअवधिमा वित्तीय व्यवस्थापनतर्फको बजेट पनि लक्ष्यको १७.५५ प्रतिशत खर्च गरिसकेको छ ।

पूँजीगत खर्चमा कमजोर देखिए पनि सरकारको राजश्व संकलन भने सन्तोषजनक छ । चार महिनाको अवधिमा सरकारले लक्ष्यको २८.३२ प्रतिशत राजश्व संकलन गरिसकेको छ । यसअवधिमा ३ खर्ब ५६ अर्ब २२ करोड राजश्व संकलन गरेको छ । चार महिनाको अवधिमा सरकारले कुल २ खर्ब ८६ अर्ब १३ करोड बजेट खर्च गरेको छ।

वैदेशिक अनुदान शून्य

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा नेपालमा वैदेशिक अनुदान शून्य देखिएको छ । सरकारले चालु आवमा वैदेशिक अनुदानबाट ५९ अर्ब ९१ करोड ९९ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म कुनै अनुदान प्राप्त भएको छैन ।

गत आर्थिक वर्ष २०७७/७८ मा सरकारले ६० अर्ब ५२ करोड रुपैयाँ अनुदान पाउने लक्ष्य राखेकोमा २० अर्ब ५६ करोड मात्र अनुदान प्राप्त गरेको थियो।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।