सिन्धुपाल्चोक जिल्लाको विकट हिमाली क्षेत्र तेम्बाथानको माथिल्लो क्षेत्रमा ब्रम्हायणी र माथिल्लो ब्रम्हायणी जलविद्युत आयोजना एकसाथ निर्माण हुने भएको छ ।
मङ्गलबार एकैदिन भएको वातावरणीय प्रभाव मूल्याङ्कनको सार्वजनिक सुनुवाइमा आयोजनाले तत्काल पहुँचमार्ग विस्तार गरी काम अगाडि बढाउने जानकारी गराएको छ ।
ब्रम्हायणी ३६.५२ र माथिल्लो ब्रम्हायणी १५.१५ मेगावाट क्षमताको जलविद्युत् आयोजना भएको र यसका लागि पूर्वाधार तयारीका काम तत्काल सम्पन्न गरी आगामी आर्थिक वर्षको सुरुआतबाट आयोजना निर्माण हुने ब्रम्हायणी जलविद्युत् आयोजना र माथिल्लो ब्रम्हायणीको निर्माण कम्पनी इन्टिग्रेटेड हाइड्रो फण्ड नेपाल प्रालिका प्रमुख भरत पराजुलीले जानकारी दिए।
कम्पनीले आयोजना निर्माणस्थल जुगल गाउँपालिका– २ र ३ सम्म पुग्ने १६ किलोमिटरमध्ये १० किलोमिटर पहुँचमार्ग निर्माण सम्पन्न भएको र बाँकी छ किलोमिटर सडक निर्माण सम्पन्न गरी आयोजनाको काम सुरु गर्ने भएको छ ।
“पहुँचमार्ग, आयोजनास्थलको आवासगृह र आयोजना निर्माणका अन्य पूर्वाधार निर्माण सम्पन्न गरी आयोजनाको काम सुरु हुनेछ”, निर्माण कम्पनीका प्रमुख पराजुलीले भने, “दुवै आयोजना सम्पन्न गर्न १० अर्ब लगानी हुने प्रारम्भिक अनुमान गरिएको छ र तीन महिनाभित्र पहुँचमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।”
दुबै आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन सार्वजनिक सुनुवाइ कार्यक्रममा आयोजना निर्माणस्थल तथा प्रभावित क्षेत्र जुगल गाउँपालिका– ३ तेम्बाथान र वडा नं २ दीपुका स्थानीयले स्थानीयका जायज माग र वातावरण सुरक्षामा ध्यान दिँदै थप काम अगाडि बढाउन सुझाव पेश गरेका छन् ।
“सीप, क्षमताअनुसारको स्थानीय सहभागिता, पर्यटन पदमार्गको सुरक्षा तथा स्तरोन्नति, चाँैरीखर्क संरक्षण तथा सामाजिक दायित्व पूरा गरी आयोजना अगाडि बढ्नुपर्छ”, जुगल गाउँपालिका–३ का वडा सदस्य नुर्बु शेर्पाले भने ।
आफ्नो विकट गाउँमा विकासको कुनै सुरुआत नभएकाले आयोजना निर्माणसँगै गाउँमा विद्युतीकरण, सडक र सामाजिक विकासका अन्य काममा आयोजनाले सहयोग गर्नुपर्ने आपूmहरुको माग रहेको जुगल गाउँपालिका–३ तेम्बाथानका जाङ्बु शेर्पाको भनाइ छ ।
स्थानीयको जायज माग, पहुँचमार्ग निर्माण, सामाजिक उत्तरदायित्वसँगै प्रत्यक्ष÷अप्रत्यक्ष रोजगारी र सञ्चारमा पहुँचको काम आयोजनाले पूरा गर्ने आयोजनाले जनाएको छ । दुई हजार छ सय ६५ मिटर उचाइमा निर्माण हुने जलविद्युत् आयोजनामा लगन खोला र न्याम्या मसाल खोलाको पानी प्रयोग हुनेछ ।
नेपाल विद्युत् प्राधिकरणसँग दुबै आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न भएको आयोजनाले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया