चाँदी आयातको कडाईले हस्तकला निर्यातमा गम्भिर असरः चेम्बर

0
Shares

नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत चाँदी आयातमा गरिएको कडाईले चाँदीबाट निमार्ण हुने गरगहना र हस्तकला आदिको निर्यातमा गम्भिर असर गर्ने बताएको छ ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सम्बन्धमा शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्दै चेम्बरले त्यस्ता उद्योगहरुमा आबद्ध कालिगढहरुको रोजगारी पनि गुम्ने जोखिम बढाएको जनाएको छ । हाल चाँदी आयातका लागि अधिकतम ३५ हजार डलरको सीमा रहेको छ ।

विदेशी विनिमय सञ्चितीको विद्यमान स्थितीलाई दृष्टिगत गरि तोकिएका वस्तुहरुको प्रतीतपत्र खोल्दा अनिवार्य रुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्थाले आयतलार्ई नियन्त्रण गर्न खोजिएको भएतापनि आवश्यक र अत्यावश्यक वस्तुहरु नपरुन् भन्ने चेम्बरको धारणा छ ।

बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात ९० प्रतिशत यथावत राखी २०७९ असार मसान्त सम्ममा निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई राष्ट्र बैंक समक्ष प्रस्तुत गर्ने व्यवस्था आएको छ । यसले तरलताको दीर्घकालिन समस्याको समाधान नगर्ने चेम्बरको धारणा छ । तरलता व्यवस्थापनका लागि सीसीडी रेसियो विगतका वर्षहरुमा झैं ८५ प्रतिशत कायम वा सिडी रेसियोलाई ९५ प्रतिशत पुयाउनपर्छ भन्ने नेपाल चेम्बर अफ कमर्शको माग छ ।

व्यवसायिक कृषि, उत्पादनमुलक उद्योग पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली उद्यमी व्यवसायीले विदेशबाट संस्थागत ऋण लिन चाहेमा ल्याउन सक्ने व्यवस्था मिलाईएको चेम्बरले स्वागत गरको छ । तर हेजिङ सम्वन्धी नीतिको उचित व्यवस्था नभई यो प्रभावकारी हुन नसक्ने उसको धारणा छ । सो को लागि हेजिङ नीतिको व्यवस्था गर्न समेत चेम्बरले माग गरेको छ ।

राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा विद्यमान अनिवार्य नगद अनुपात, बैंकदर र वैधानिक तरलता अनुपात यथावत राखिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।