नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले लगानीकर्ताको माग सम्बोधन नगरेपछि आइतबार नेप्से करिब ३ प्रतिशतले घटेको छ ।
नीति सार्वजनिक भएदेखि लगानीकर्ताले विद्यमान सीडी अनुपात र सेयर धितोकर्जामा लागू भएको ४।१२ करोडको एकल ग्राहक कर्जा सीमा हटाउनुपर्ने माग रहेको थियो ।
पहिलो त्रैमासिक समीक्षामा सो नीति संशोधन हुने आशामा लगानीकर्तामा रहेको थियो । तर लगानीकर्ताको माग बमोजिम राष्ट्र बैंकले दुबै विषयमा सम्बोधन गरेन ।
शेयरधितोकर्जाको ४/१२ मा केही नबोलेको समीक्षाले सिडी रेसियोमा भने बैंकहरुलाई सञ्चालक समितिबाट अगामी असार मसान्तसम्ममा ९० प्रतिशतमा झार्ने स्पष्ट कार्ययोजना केन्द्रीय बैंकमा बुझाउन निर्देशन दिएको छ ।
राष्ट्र बैंकको यस निर्देशनले बैंकहरुलाई स्वीकृत भैसकेको ऋण प्रवाह गर्न बाटो खुला भएपनि नयाँ ऋणका लागि सहज अवस्था नरहेको एक बैंकरले बताए । केही बैंकको ९५ प्रतिशत रहेको सीडी औषतमा पनि ९०.३१ प्रतिशत छ । यसले निक्षेप नबढी थप कर्जा लगानी बढाउन सक्ने अवस्था नभएको उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूँजीबजार फोरमका सभापति, शेयर बजारका भेट्रान लगानीकर्ता तथा नेपाल इन्भेष्टर्स फोरमा पूर्व अध्यक्ष अम्बिका पौडेलले आइतबारको बजारका सम्बन्धमा घट्दो बजारमा आएको बिक्रीचापतर्फ इगिंत गर्दै भनेका छन्, ‘भोलि फेरि ठूलाले खाए भनेर रोइलो देख्न नपरे हुन्थ्यो ।’
घट्दो बजारमा सेयर बिक्री गर्नुभन्दा संयमित भएर बजारमा लगानी गर्नुपर्ने आसयमा पौडेलले उक्त भनाई राखेका हुन् । आइतबार बजार उच्च अंकले घटेकाले सोमबार सोही अनुसार बाउन्स ब्याक हुनसक्ने उनको संकेत छ ।
आइतबार नेप्से २.९३ प्रतिशत अर्थात ८०.२९ अंकले घटेर २६५१.४९ बिन्दुमा झरेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सूचक पनि २.७५ अंक अर्थात १४.१९ अंकले घटेर ५०१.४५ बिन्दुमा झरेको छ ।
यसदिन कूल २३४ वटा कम्पनीको १ करोड १९ लाख ३ हजार २०२ कित्ता सेयर ७० हजार ८४२ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रूपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन बिहीबाको तुलनामा आइतबार कारोबार भएको रकम २ अर्ब ४ करोड ५४ लाख रुपैयाँले धेरै हो ।
स्टकका अनुसार आइतबार कारोबार भएका कूल १३ वटै उपसमूहमध्ये सूचक घटेको छ । ब्यापार सर्वाधिक ५.३७ प्रतिशतले घटेको बजारमा विकास बैंक सूचक ५.११ प्रतिशत, होटल ४.३२ प्रतिशत र जीवन बीमा, निर्जीवन बीमा, अन्य, र लगानी सूचक ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आइतबार म्युचुअल फण्डसहित जम्मा १० वटा कम्पनीको सेयरमूल्य बढेको छ । आज आइसिएफसी फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै ९.७७ प्रतिशतले बढेर ९३२ रूपैयाँ पुगेको छ । महालक्ष्मी विकास बैंक लिमिटेडको सर्वाधिक २९ करोड ८१ लाख रूपैयाँ बराबरको कारोबार भएको छ । बैंकको ४ लाख ४९ हजार १२९ कित्ता शेयर कारोबार भएको हो ।

यसैगरी नेपाल पुनर्बीमा कम्पनी २३.४८ करोड, नेशनल हाइड्रोपावर २२.८६ करोड, नेपाल टेलिक १९.०४ करोड, निर्धन उत्जान लघुवित्त १६.२० करोड र अपि पावरको १५.८५ करोड रुपैयाँको सेयर कारोबारमा आएको छ । नबिल बैंक, अपर तामाकोशी, एचआईडिसीएल र अरुण काबेली पावर शीर्ष दश ठूलो कारोबार हुने कम्पनीमा समेटिएका छन् ।
आजको बजारमा आईसिएफसी फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ९.७८ प्रतिशतले बढेको छ । समालिङ्ग पावरको सेयरमूल्य ८.२१ प्रतिशत, र निर्धन उत्थान लघुवित्तको मूल्य ३.४३ प्रतिशतले बढेको छ ।
उता हिमालयन पावर पार्टनरको सेयरमूल्य आज सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ८.४९ प्रतिशत घटेर ४४३ रुपैयाँमा झरेको हो । यसैगरी मानुषी लघुवित्तको ८.०९ प्रतिशत, प्राइम लाईफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक, जोशी हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर, र नेशनल हाइड्रोपावरको सेयरमूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।










प्रतिक्रिया