आईसिएफसि फाइनान्सको शेयर मूल्यमा चलखेल, एउटा कारोबारमा ११ प्रतिशतले बढाइयो मूल्य


पछिल्लो समय आईसिएफसि फाइनान्सको शेयर मूल्यमा विभिन्न उपकरणको प्रयोग गरी चलखेल भईरहेको छ ।

आइतबार फाइनान्सको शेयर मूल्यमा अस्वभाविक चलखेल गरेको भेटिएको छ । बजार तीब्र गतिमा ओरालो लागेको आइतबारको बजारमा अन्तिम समयमा भएको एउटा कारोबारमा फाइनान्सको शेयर मूल्य साढे ११ प्रतिशतभन्दा बढी बढाएर कारोबार भएको छ । जबकी सामान्य अवस्थामा बजारमा एउटा कारोबारमा अघिल्लो कारोबार मूल्यमा २ प्रतिशत मात्र तलमाथि भएर कारोबार हुनसक्छ ।

यसरी फाइनान्सको शेयर मूल्यमा कृतिम बढोत्तरी भएपछि बजार बन्द हुँदा फाइनान्सको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेर बन्द भएको थियो । उक्त समयमा समग्र बजार परिसूचक नेप्से ८० अंकले घटेको थियो । यसरी बजार घटिरहेको अवस्थामा अधिकांश कम्पनीको शेयर मूल्य फराकिलो अन्तरमा घट्दै गर्दा आईसिएफसिको शेयर मूल्य भने १० प्रतिशतले बढेर बन्द हुनु्मा समग्र बजारले चासो देखाएको छ ।

यस अघिदेखि नै एक समुहले शेयर दलाल नम्बर २० तथा ४८ बाट आईसिएफसि फाइनान्सको शेयर मूल्यमा चलखेल गर्दै आएको थियो । आइतबारको कारोबारमा भने ५९ नम्बर ब्रोकरबाट बिक्री भएको शेयर २० नम्बर ब्रोकरमा खरिद हुँदा एकै पटक शेयर मूल्य साढे ११ प्रतिशतले बढाइएको हो ।

गत बिहीबार ८४९ रुपैयाँमा अन्तिम पटक फाइनान्सको शेयर कारोबार भएको थियो । आइतबार ८३३ रुपैयाँमा पहिलो कारोबार भएको फाइनान्सको शेयर मूल्य बजार बन्द हुने समयसम्ममा सोही मूल्यको आसपासमा थियो । तर अन्तिम समयमा ८३६ रुपैयाँमा कारोबार भएलगत्तै अर्को कारोबारमा ९३३ रुपैयाँमा कारोबार गराइएको हो । यस क्रममा एउटा कारोबारमा नै फाइनान्सको शेयर मूल्य ९७ रुपैयाँ अर्थात साढे ११ प्रतिशतले बढेको थियो ।

 

यस सम्बन्धमा नेपाल स्टक एक्सचेञ्जले कसरी फाइनान्सको शेयर मूल्यमा चलखेल भएको हो भन्न सकेको छैन । उसले आइतबारको कारोबारका आधारमा सबै विवरण तथा तथ्याङ्क र अर्डरहरुमा अनुसन्धान सुरु गरेको जनाएको छ । बजारमा राखिएका विभिन्न उपकरणको सहयोगमा शेयर मूल्यमा चलखेल गराएको हुनसक्ने अनुमान नेप्सेको छ ।

उक्त समुहले ब्रोकर नम्बर ५९ बाट १२ कित्ता शेयर बिक्री गराएर २० नम्बर ब्रोकरबाट खरिद गरी मूल्य बढाएको हो । त्यसपछि कायम भएको मूल्यमा शेयर कारोबार गराउनका लागि फेरि ४८ नम्बर ब्रोकरबाट शेयर संख्या बढाएर शेयर कारोबार गरिएको देखिन्छ । आइतबार यो घटनाक्रम पछि आईसिएफसिको शेयर अन्तिम पटक ९३२ रुपैयाँमा किनबेच भएर बन्द भएको थियो ।

आइतबार आईसिएफसिको १ लाख १९ हजार ९३८ कित्ता शेयर कारोबार भएको थियो । जसमा ८३५ रुपैयाँको दरमा २० नम्बर ब्रोकरबाट ४८ हजार १४० कित्ता शेयर खरिद भएको छ । आइतबार कारोबारमा आएको फाइनान्सको कुल शेयर संख्याका आधारमा २० नम्बरबाट मात्रै उक्त समुहले ४० प्रतिशतभन्दा बढी शेयर खरिद गरेको हो ।

यस अघि पनि उक्त समुहले ब्रोकर नम्बर २० र ४८ बाट आईसिएफसि फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर मूल्यमा चलखेल गर्दै आएको थियो ।

आईसीएफसी र महालक्ष्मी विकास बैंकको लाखौं कित्ता शेयर खरिद गर्न कृतिम आदेश, फस्दै आम लगानीकर्ता

एकै पटक ११ प्रतिशतभन्दा धेरैले शेयरमूल्य बढाइएपछि लगानीकर्ता मात्र नभई शेयर दलाल व्यवसायीहरु पनि अन्यौलमा परेका छन् । २ प्रतिशतसम्म मात्र शेयर मूल्य बढाउन सकिने प्रणाली बनाइए पनि ११ प्रतिशतभन्दा धेरैले एकै पटकमा मूल्य बढाइँदा बजारप्रतिको विश्वसनीयता गुम्ने अवस्था आएको एक लगानीकर्ताले बताए । नेपाल स्टक एक्सचेञ्जले यसम्बन्धमा अनुसन्धान गरी चलखेल गर्नेलाई कारर्वाहीको दायरामा ल्याउनुपर्ने उनको भनाई छ ।

आईसिएफसि र महालक्ष्मीको शेयर कर्नरिङमा फस्दै साधारण लगानीकर्ता

उता शेयर दलाल व्यवसायीहरुले पनि विद्यमान व्यवस्था अनुसारको प्रणालीभन्दा बाहिर गएर कारोबार गराउन कसरी सम्भव भयो भन्दै नियामकसँग प्रश्न गरेका छन् । आईसिएफसिको शेयरमा आइतबार भएको चलखेल कसरी सम्भव हुन्छ भन्ने सम्बन्धमा नेप्सेले अध्ययन गरि यस्ता कमजोरी हटाउनुपर्ने उनीहरुको भनाई छ ।

गुड टील क्यान्सिल (जीटीसी) तथा मार्केट अर्डर (एमकेटी) का आधारमा फाइनान्सको शेयर मूल्यमा चलखेल भएको हुनसक्ने नेप्सेको अनुमान छ । यद्यपी मार्केट अर्डरमा बजार मूल्यमा कारोबार हुने र उक्त मूल्यमा शेयर बिक्री आदेश पर्याप्त भएकाले ९३३ रुपैयाँमा उक्लिएर कारोबार हुनसक्ने अवस्था देखिन्न । जीटीसीमा १४ दिन अवधिसम्म अर्डर रहिरहने भए पनि बजार मूल्य उक्त अर्डरमा नपुगि जीटीसी अर्डरमा मूल्य बढाएर कारोबार गर्न सकिँदैन ।

नेप्सेले पनि कसरी शेयर मूल्यमा चलखेल भएको भन्ने पत्ता लगाउन सकेको छैन । उसले अनुसन्धान गरेर कारोबारमा भएको चलखेल पत्ता लगाउने जनाएको छ ।

आइतबार भएको चलखेलको मूल्यका आधारमा नै सोमबार फाइनान्सको शेयर कारोबार गराइएको छ । ९१३ रुपैयाँमा कारोबार खुलेको फाइनान्सको शेयर मूल्य सोमबार साढे २ बजे ८३८ रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।