आईसिएफसि फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर कर्नरिङ अनुसन्धान गर्दै धितोपत्र बोर्ड


नेपाल धितोपत्र बोर्डले आईसिएफसि फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर कर्नरिङको अनुसन्धान गर्ने भएको छ । बजार सुस्त भईरहेका बेला खेलाडीहरुले आफ्नो शेयर बेच्नका लागि कृतिम मूल्य सृजना गरे पछि बोर्डले यसमा अनुसन्धान गर्ने भएको हो ।

धितोपत्र बोर्डका कार्यकारी निर्देशक एवं प्रवक्ता निरज गिरीका अनुसार मंगलबारदेखि नै बोर्डले आईसिएफसि फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर कारोबारको अनुसन्धान थाल्ने भएको हो । “बजारको गति विपरित फोर्सफुल प्राइस गेन गराउन खाजेकाले हामीले अनुसन्धान थालेका छौं,” गिरीले भने “विगतमा पनि यस्ता घटना घटेको गुनासो आईरहेको सन्दर्भमा कर्नरिङ र कृतिम मूल्य वृद्धि भएको भेटिएमा बोर्डले समुहको पहिचान गरी सार्वजनिक गर्दै कार्वाही गर्छ ।”

चलाख भनिने र भएको पूँजी परिचालन गर्न सक्ने खेलाडीहरुका कारण पछिल्ला दिनमा शेयर बजारमा साधारण लगानीकर्ता फस्ने क्रम तीब्र भएको छ । बजार सामान्य अवस्थामा चलिरहँदा केही कम्पनीको शेयर मूल्यमा हुने अस्वभाविक चलखेलमा साधारण अनि साना लगानीकर्ता फस्ने गरेका छन् ।

पछिल्लो पटक मात्र एचआईडिसिएल, गोर्खाज फाइनान्स, पोखरा फाइनान्स, नेपाल इन्स्योरेन्स लगायत कम्पनीको शेयर मूल्य कृतिम रुपमा बढाएर माथिल्लो विन्दुमा पुगेपछि आफुसँग भएको सबै शेयर बेचेर निस्किएको समुह अहिले फेरि सक्रिय भएसँगै बोर्डले चासो देखाएको हो ।

पछिल्ला केही दिनको आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर मूलयमा भइरहेको वृद्धि पनि माथि उल्लेख गरिएका कम्पनीहरुको जसरी नै बढाइएको छ । यो स्मार्ट खेल, कर्नरिङका कारण सिधा र साना लगानीकर्ता लोभमा फस्दा नोक्सानी व्यहोर्ने अवस्थामा पुगेका छन् ।

१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेको आईसिएफसि फाइनान्सको शेयर मूल्य दिनहुँ अन्तिम समयमा किन फराकिलो अन्तरले बढिरहेको छ भन्ने विषय आम लगानीकर्ताले बुझ्न सकिरहेका छैनन् । साविकको तुलनामा राम्रो वित्तीय विबरण सार्वजनिक गरे पनि महालक्ष्मी विकास बैंकको शेयर मूल्य पनि औषतमा समकक्षी बैंककोभन्दा महंगो भईसकेको छ ।

यस्तो अवस्थामा पहिले सस्तो मूल्यमा खरिद गरेको २ वटा कम्पनीको शेयर बिक्री गर्ने ध्यानमा रहेको उक्त समुहले अब एक पछि अर्कोे गर्दै महंगोमा साधारण लगानीकर्तालाई शेयर बिक्री गर्दै जानेछ । यो तयारीलाई बोर्डको अनुसन्धानले कति असर पार्ला भन्ने चासो लगानीकर्तामा उब्जिने देखिन्छ ।

साधारण लगानीकर्ताले १ हजार ४०० रुपैंयासम्ममा किनेको नेपाल इन्स्योरेन्सको शेयर पनि यसै समुहले कृतिम मूल्यवृद्धिबाट सर्वसाधारणमा बिक्री गरेको थियो । अहिले नेपाल इन्स्योरेन्सको प्रतिकित्ता शेयर मूल्य ९०० रुपैंयाभन्दा धेरै तल छ । केही समयको अन्तरालमा नै साधारण लगानीकर्ताले उक्त कम्पनीको शेयरमा ६०० रुपैंयाको नोक्सानी व्यहोरिरहेका छन् । अब फेरी नेपाल इन्स्योरेन्सको शेयर मूल्य १ हजार ४०० रुपैंया पुग्ने कुनै आधार पनि छैन ।

अहिले आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयरमा पनि नेपाल इन्स्योरेन्सको जस्तै अवस्था बनिसकेको छ । केही दिन अघि मात्र ६६० रुपैंयासम्ममा झरेको आईसीएफसीको शेयर मूल्य सोमबार १ हजार रुपैंयाभन्दा माथि पुर्याइएको छ । जबकी बजार बढ्न सकिरहेको छैन । कृतिम रुपमा मूल्य बढाईरहेको समुहले फाइनान्सको शेयर ७०० रुपैंयामा नै किनेको भए पनि ३०० रुपैंया नाफा कमाएर आम लगानीकर्तालाई महंगोमा बिक्री गर्ने तयारीमा छ ।

विभिन्न सामाजिक सञ्जालबाट लगानीकर्ताको मनसायमा खेल्दै आएको समुहका कारण आम लगानीकर्ता पटक पटक फस्ने गरेको एक शेयर दलाल व्यवसायीले नोटबजारलाई बताए । “महालक्ष्मीले निकालेको वित्तीय विबरण अनुसारको मूल्य बजारले तय गरिसकेको, आईसीएफसीको वित्तीय विबरण र लाभांशलाई पनि बजारले स्वभाविक मानिसकेको अवस्थामा एकाएक शेयर मूल्यमा उछाल आउनु साधारण लगानीकर्ता फसाउन समुहगत रुपमा चालिएको चाल हो,” ती दलाल व्यवसायीले भने ।

सोमबार दिनभर घटेर बिक्री चापको अवस्थामा रहेको दुबै कम्पनीको शेयर मूल्य अन्तिम समयमा एकाएक उचालेका हुन् । “बजार २० अंकले घटेका बेला अन्तिम समयमा १० प्रतिशतले शेयर मूल्य बढाएर अर्को दिन आफुसँग भएको सबै शेयर बेच्ने योजना समुहले बनाएको देखिन्छ । यस्तो अवस्थामा लगानीकर्ता सचेत हुनु पर्छ,” अर्का एक शेयर दलाल व्यवसायीले भने ।

ठूलो मात्रामा उल्लेखित २ कम्पनीको शेयर उक्त समुहसँग रहेको बताएका ती दलाल व्यवसायीले बजारका लागि यस्तो अभ्यास गलत रहेको बताए । “अब त्यो समुहले सबै शेयर साधारण लगानीकर्तालाई बिक्री गरे पछि त्यस्ता साना लगानीकर्ता उठ्नै नसक्ने गरी फस्ने क्रमले निरन्तरता पाउने एक लगानीकर्ता बताउँछन् । नियामक निकायले के हेरी रहेको छ ? यस्ता समुहको कारोबारलाई अनुसन्धान गरेर आम लगानीकर्तालाई बचाउने दायित्व नियामकको हो । तर त्यस्तो हुन सकेन,” उनले भने ।

अरू लगानीकर्ताले धमाधम शेयर बिक्री गर्न थालेपछि यो समुहले बजार बन्द हुने समयमा २ कम्पनीको शेयरमा अस्वभाविक इन्ट्री गरेर अन्तिम समयमा मूल्य बढाएको र मंगलबार त्यो शेयर बिक्रीमा आएको खण्डमा आश्चर्य मान्नु नपर्ने बजारका जानकारहरु बताउँछन् ।

महालक्ष्मी विकास बैंकको शेयर कर्नरिङ शेयर दलाल नम्बर २० र आईसीएफसीको ४८ नम्बरबाट भएको देखिन्छ । सोमबार मात्र ४८ नम्बरले एक पछि अर्को गर्दै मूल्य बढाएर आईसीएपसी फाइनान्सको ६८ हजार कित्ता शेयर खरिद गरेको देखिन्छ । त्यसै गरी २० नम्बरबाट मूल्य बढाउँदै महालक्ष्मी विकास बैंकको १ लाख २५ हजार कित्ता शेयर खरिद भएको छ ।

सोमबारको यो कारोबार विबरणलाई धितोपत्र बोर्ड र नेप्सेले सुक्ष्म निगरानी गर्नु पर्ने अर्का एक लगानीकर्ता बताउँछन् । “साना लगानीकर्तालाई बबजारबाट बिस्थापित गर्ने गलत अभ्यासको छानबिन गरिनु पर्छ,” उनले भने ।

२ दिनमा मात्र ८७० रुपैंयाको आईसीएफसी फाइनान्सको शेयर मूल्य बढाएर १ हजार ४४ रुपैंया पुर्याइएको छ । यसरी फाइनान्सको शेयर मूल्य बढ्नु पर्ने कुनै आधार छैन । उता केही दिन अघि सम्म ७०० रुपैंया रहेको महालक्ष्मी विकास बैंकको शेयर मूल्य पनि सोमबार बजार बन्द हुँदा ८८२ रुपैंया पुर्याइएको छ । यसको पनि कुनै आधार छैन ।

मंगलबारको बजार गति र उल्लेखित २ कम्पनीको शेयर मूल्य तथा कारोबार चापले आम लगानीकर्ताको जोखिमलाई पनि निक्र्यौल गर्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ