गरिमाको ऋणपत्रमा वार्षिक ८.७५% ब्याज पाइने, आजदेखि आवेदन खुल्यो

0
Shares

गरिमा विकास बैंक (GBBL) ले मंसिर १६ गतेदेखि ‘८.७५ प्रतिशत गरिमा डिबेन्चर २०८५’ को निष्काशन तथा बिक्री खुला गरेको छ ।

सात वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८.७५ प्रतिशत ब्याजदर पाइने बैंकले जनाएको छ । बैंकले दीर्घकालीन लगानीका लागि स्रोत संकलनका लागि एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सो मध्ये ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ भने ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा जारी गरिएको बैंकले जनाएको छ ।

सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । ३ लाख ८० हजार इकाईका सर्वसाधारणमा बिक्री हुनेछ । ऋणपत्रमा छिटोमा मंसिर २० गते र ढिलोमा पुस १ गतेसम्मसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले मेरो शेयरको मोबाइल एप तथा वेवसाइटबाट अनलाईनबाट तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू र बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडबाट समेत ऋणपत्रमा लगानी गर्न सक्नेछन् ।

इक्रा नेपालले बैंकको ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्राएनपी आईआर त्रिपल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।