नेशनल हाइड्रोपावरले ३ महिनामा कसरी कमायो पौने ५९ करोड नाफा ?

0
Shares

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड ले विद्युत बिक्री आय अघिल्लो आवको तुलनामा ५ करोड २८ लाखले घट्दापनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५८ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा ६१ करोड ७२ लाख ४७ हजार रुप्रयाँ प्रोभिजन राइट ब्याकले कम्पनीको नाफा बढेको हो । यद्यपी कम्पनीको विद्युत बिक्री आय भने घटेको छ ।

आइतबार सर्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले बिजुली बेचेर १ करोड ३५ लाख ७६ हजार रुपैयाँ कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले ६ करोड ६४ लाख १४ हजार रुपैयाँ आम्दानी गरेको थियो । कुल नाफा ४५ लाख २३ हजार रुपैयाँ ऋणात्मक रहेको कम्पनीको कर अघिको नाफा २ करोड ९८ लाख ३ हजार रहेको छ ।

सार्वजनिक विवरण अनुसार कम्पनीले तल्लो इन्द्रावती जलविद्युत आयोजनाको इजाजत पाएपछि कम्पनीले लगानी गरेको मध्ये सो बराबरको रकम राइट ब्याक भएको हो । सरकारले ४.५ मेगावाट क्षमताको तल्लो इन्द्रावती जलविद्युत आयोजना अनुमतिपत्र प्रतिस्पर्धा गराई बोलकबोल माध्यमबाट प्रदान गर्ने नीति लिई प्रतिस्पर्धा गराएको थियो । जसमा कम्पनीको प्राविधिक तथा आर्थिक प्रस्ताव सर्वोकृष्ट ठहरिएपछि विद्युत विकास विभागले गत कात्तिक २८ गते नेशनल हाइड्रोपावरलाई अनुमति पत्र दिएको थियो।

चुक्ता पूँजी १ अर्ब ३८ करोड ५९ लाख रुपैयाँ रहेको कम्पनीको राइटब्याकले गर्दा प्रतिशेयर आम्दानी ४१.३१ रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोषमा २३ करोड २२ लाख रुपैयाँ सञ्चित हुँदा कम्पनीको प्रतिशेयर नेटवर्थ ११६.७६ रुपैयाँ कायम भएको छ । सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १०.४६ गुणा छ ।

तल्लो इन्द्रावतीको सर्वेक्षण अनमतिपत्र प्राप्त भए पश्चात नेशनल हाइड्रोपावरले आयोजनाको अध्ययनको लागि परामर्शदाता नियुक्त भई स्थलगत सर्वेको काम सम्पन्न गरिसकेको छ । आयोजनको भत्किएका सुरुङ्ग तथा अन्य संरचनाहरूको पुनः निर्माण कार्य ठेकेदारहरू परिचालन गरी चालु गरिएको छ । अन्य थप अध्ययनको काम करिब ३ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

कम्पनीको लगानी रहेको लोअर इखुवा हाइड्रो पावर कम्पनी प्रा.लि. १४.१५ मेगावाट, (भोजपुर) आयोजनामा बंकर लगायतको निर्माण कार्य सम्पन्न भई नेपाली सेना आयोजना स्थलमा गई सकेको हुनाले विष्फोटक पदार्थ आयोजना स्थलमा पुयाई, करिब १ हजार २५ मिटर सुरुङ्ग उत्खनन् भई सकेको कम्पनीले जनाएको छ ।

त्यसैगरी अन्य सिभिल संरचना निर्माणको काम शुरु भइसकेको छ। विद्युतीय मेशिन तथा उपकरणहरूको टेन्डर सम्पन्न भइ ठेक्का सम्झौताको लागि नेगोसियसनको काम सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । आयोजनाको वित्तीय व्यवस्थापनको २०७७ माघ २१ गते माछापुच्छ्रे बैंकको अगुवाईमा नेपाल एसबिआई बैंक र ज्योति विकास बैंकसँग ऋण सम्झौता गरिएको र सो सम्झौता अनुसार ऋण प्रवाह समेत हुन थालिसकेको वित्तीय विवरणमा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ मंसिर २०७८, आइतबार  ११ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।