निक्षेप संकलन सुस्त भएपनि कर्जा लगानीमा आक्रमक बैंकहरु

0
Shares

वाणिज्य बैंकहरुमा मंसिर तेस्रो साता यता निक्षेप थपिन थालेको छ । मंसिरको पहिलो र दोस्रो साता वाणिज्य बैंकहरुको निक्षेप घटेकोमा तेस्रो सातामा भने ७ अर्ब थपिएको छ ।

चालु आर्थिक वर्षको मंसिर महिनाको पहिलो साता वाणिज्य बैंकहरुबाट ८ अर्ब तथा दोस्रो साता ६ अर्ब रुपैयाँले निक्षेप घटेको थियो । तेस्रो सातामा आएर भने ७ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । दशैं, तिहार तथा छठ लगायतका चाडपर्वका लागि बाहिरिएको रकम बैंकहरुमा आउन थालेपछि निक्षेपमा सुधार देखिएको हो ।

निक्षेप आउनेक्रम सुस्त भएपनि बैंकहरु कर्जा लगानीमा भने आक्रमक देखिएका छन । मंसिर तेस्रो साता ७ अर्ब निक्षेप बढाएका वाणिज्य बैंकहरुले १४ अर्ब कर्जा लगानी गरेका छन । बैंकहरुले मंसिरको पहिलो साता ७ अर्ब तथा दोस्रो साता पनि १४ अर्ब कर्जा विस्तार गरेका थिए ।

बैंकिङ प्रणालीबाट निक्षेप झिकिने र नयाँ निक्षेप नथपिए पनि कर्जा प्रवाह भने जारी रहेको छ । यसले गर्दा बैंकहरुको कर्जा निक्षेप अनुपातमा चाप परेको देखिन्छ । अहिले वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.८६ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार कर्जा निक्षेप अनुपात ९० भन्दा माथि जानु हुँदैन । तर, केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासीक समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाहरुले कर्जा–निक्षेप अनुपात २०७९ असार मसान्तसम्ममा सीमामा ल्याउने समयावधि दिएको छ । जसका लागि बैंकहरुले निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई केन्द्रीय बैंक समक्ष पेश गरि सोको कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरेको छ ।

पछिल्लो समयमा बैंकहरुले निक्षेप ल्याउन नसक्दा कर्जा लगानी रकमको अभाव बढेको र कर्जाको फाइल बिक्री गर्ने प्रचलन बढेको छ । मंसिर महिनाको १७ गतेसम्ममा बैंकहरुले कुल ४२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । सो अवधिसम्ममा बैंकहरुले कुल कर्जा ४० खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ ।
वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष सुरु भएयता अर्थात साउनदेखि मंसिर १७ गतेसम्ममा ३ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् भने २५ अर्बले मात्र निक्षेप थपिएको छ ।

चालु आर्थिक वर्ष सुरु भए यता नै बैंक तथा वित्तीय संस्थाहरु तरलता अभावको अवस्थाबाट गुज्रिरहे पनि कर्जा विस्तारमा भने आक्रमक नै रहे । कर्जा विस्तारको तुलनामा बैंकहरुमा निक्षेप नथपिँदा तरलता संकटको समस्या झनै चुलिँदै गयो । त्यती मात्र नभै नेपाल राष्ट्र बैंकले कर्जा प्रवाहको गतिलाई नियन्त्रण गर्नका लागि पूँजी, कर्जा तथा निक्षेप अनुपातलाई खारेज गरी कर्जा निक्षेप कायम ग¥यो । त्यसले गर्दा अहिले बैंकहरुमा तरलता अभावको समस्यासँगै कर्जा लगानी योग्य रकमको समेत अभाव बढेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।