जापानी अर्बपति माइजावा अन्तरिक्षमा पुग्ने अर्बपतिहरूको सूचीमा सामेल

0
Shares

जापानी अर्बपति युसाकु माइजावा अन्तरिक्षमा पुग्ने अर्बपतिहरूको सूचीमा सामेल भएका छन् । सन् २०२३ मा चन्द्रमामा पुग्ने सपना सजाएका उनी अहिले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) को यात्रामा छन् ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) सम्म पुग्नको लागि माइजावा बोकेको रूसी रकेट कजाकिस्तानको बायकोनुर कस्मोड्रोमबाट उडेको थियो । आईएसएसको बसाइ १२ दिनको हुनेछ । उक्त समयमा उनले विभिन्न ट्रेनिङ्गहरु लिने छन् । हालैका वर्षहरूमा अन्तरिक्ष भ्रमण गर्ने उनी पहिलो अन्तरिक्ष पर्यटक हुन् ।

यो भ्रमण माइजावाको २०२३ मा चन्द्रमामा पुग्ने महत्वाकांक्षी सपनाको अग्रगामी पाइला हुनेछ । उनको यस अन्तरिक्ष भ्रमणको कुल खर्च ८ करोड ८० लाख अमेरिकी डलर रहेको छ ।

बुधबार गरिएको प्रक्षेपणमा माइजावा रूसी अन्तरिक्ष यात्री अलेक्ज्याण्डर मिसुरकिन र भिडियो निर्माता योजो हिरानोको साथमा देखिएका थिए। योजो हिरानोले माइजावाको युट्युब च्यानलको लागि अन्तरिक्ष यात्राको सम्पुर्ण क्रियाकलापलाई समेटिरहेका छन् ।

माइजावाले रकेट प्रक्षेपण हुनु अघि एक कठोर प्रशिक्षण कार्यक्रम पार गरेका थिए । जसमा झुकाएको ओछ्यानमा सुत्ने, कुर्र्सीमा घुम्ने र लामो समयसम्म ब्याडमिन्टन खेल्ने समावेश थियो। उक्त क्रियाकलापको सबै विवरण उनले सामाजिक संजालमा शेयर गरेका छन् ।

यसअघिको पत्रकार सम्मेलनमा माइजावाले, “म जस्तो सामान्य व्यक्ति यस्तो अज्ञात संसारमा जान सक्छ भन्ने देखेर अरु मानिसहरूले पनि आशा र सपनाहरू राख्न सक्छन्, भनेका थिए ।

अन्तरिक्ष यात्रामा माइजावा अघि जेफ बजोस र रिचार्ड ब्रान्सनले अन्तरिक्षको यात्रा गरिसकेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।