प्रचण्डको पूँजी बजार विरोधी अभिव्यक्तिले २ दिनमा लगानीकर्ताले गुमाए २३६ अर्ब सम्पत्ति

0
Shares

ब्याजदर, तरलता र नीतिगत चेपुवामा परेको सेयर बजार पछिल्ला दिनमा उच्च पदस्थ राजनैतिक व्यक्तिको अभिव्यक्तिका कारण थप प्यानिक बनेको छ ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको ७ वटै प्रदेशको प्रदेश सम्मेलनलाइ सम्बोधन गर्ने क्रममा आइतबार धितोपत्र बोर्ड र पुँजीबजारलाई साम्राज्यावादको विकसित स्वरुपको रुपमा चित्रित गरेपछि दुई दिनमा मात्रै मात्रै बजार सूचक १६८ अंकले घटेको छ ।

पछिल्लो पाँच कारोबार दिनमा मात्रै नेप्से २६४ अंकले घटेको छ । उनको अभिव्यत्तिका कारण पछिल्लो २ दिनमा मात्रै लगानीकर्ताको सम्पत्ति २ खर्ब ३६ अर्ब रुपैयाँले घटेर कुल बजार पूँजीकरण ३२ खर्ब ७ अर्ब ७८ करोड रुपैयाँमा संकुचित बनेको छ ।

गत बिहीबार सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कुल ३४ खर्ब ४४ अर्ब २६ करोड रुपैयाँ रहेको थियो ।

जिम्मेवार पदाधिकारीले दिने अभिव्यक्तिकै कारण पूँजी बजार पटक पटक प्यानिक हुने गरेको छ । राजश्वको दरिलो स्रोतको रुपमा स्थापित भैरसककेको पूँजी बजारलाई हेर्ने दृष्टिकोण एकनासको हुन नसक्दा सेयर बजारमा लगानी गर्ने साना लगानीकर्ताहरु सधैं घाटा खाएर प्यानिक बन्नुपर्ने अवस्था नेपालको पूँजीबजारको विशेषता जस्तै बन्न पुगेको छ ।

सत्ता साझेदार घटक तथा पुर्व प्रधानमन्त्री प्रचण्डबाट शेयर बजारको बारेमा दिएको शेयर बजार प्रतिकुल धारणापछि लगानीकर्ताको मनोबल कमजोर बन्दा बजारमा उच्च अंकको गिरावट आएको हो । कार्यक्रममा उनले आद्योगिक क्षेत्रमा लगाउनुपर्ने पूँजीको लगानी शेयर बजारमा हुनु भनेको साम्राज्यवादको विकसित रुप भएको बताएका थिए । पुँजीबादलाई कसरी भण्डाफोर गर्ने भन्ने जिम्मेवारी आफुहरुको काँधमा आएको उनले बताएका थिए ।

साताको दोस्रो कारोबार दिन सोमबार कारोबारमा आएका अधिकांश उपसमुहगत सूचक घट्दा नेप्से ७९.५७ अंकले घटेको छ । प्रचण्डमकै अभिव्यत्तिका कारण आइतबार पनि बजार ८८.७० अंकले घटेको थियो । बजारको उच्च घटाइपछि सामाजिक सञ्जालमा ‘पूँजीबजार विरोधिलाई नो भोट’ अभियान सञ्चालन गरिरहेका लगानीकर्ता, आम सर्वसाधारण तथा अन्य सरोकारवालाहरुबाट सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भैरहेको छ ।

सोमबार नेप्से ३.३६ प्रतिशत अर्थात ७९.५७ अंकले घटेसँगै सूचक २२८२. बिन्दुमा झरेको छ । ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स १२.४७ अंकले घटेर ४३७.५९ बिन्दुमा झरेको छ ।

यसदिन कूल २३३ वटा कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता सेयर ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १७८ रूपैयाँमा खरिद बिक्री भएको छ । ६२ हजार ८०९वटा संख्यामा उक्त सेयर खरीद बिक्री भएको नेप्सेले जनाएको छ ।

कारोबारमा आएका १३ वटै उपसमूहगत सूचक रातम्मे बनेको छ । फाइनान्स सर्वाधिक ५.३४ प्रतिशतले घट्दा विकास बैंक, निर्जीवन बीमाको सूचक पनि ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

स्टकका अनुसार सोमबार नबिल बैंक लिमिटेडको सर्वाधिक १८ करोड ३ लाख ५९ हजार रूपैयाँ बराबरको सेयर कारोबारमा आएको छ । नेशनल हाइड्रोपावर, हिमालयन डिष्टिलरी, मञ्जुश्री फाइनान्स र महालक्ष्मी विकास बैंकको दश करोडको बढीको सेयर कारोबार भएको छ ।

आज गोर्खाज फाइनान्सको सेयरमूल्य सर्वाधिक ९.४७ प्रतिशतले बढेर ७७१.९० रूपैयाँमा पुगेको छ । यसैगरी बोटलर्स नेपाल ततराईको ५.४०, युनिलिभर नेपाल ४.०३ र माउन्टेन इनर्जी नेपालको सेयरमूल्य ३.९२ प्रतिशतले बढेको छ ।

उता स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरूले सबैभन्दा धेरै गुमाएका छन् । संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले घटेर १६९३.९० रूपैयाँमा झरेको छ ।

दिब्यश्वरी हाइड्रोपावर, नेशनल हाइड्रो, गुडविल फाइनान्स, आँखुखोला, तेह्रथुम पावर कम्पनी, आइसिएफसि फाइनान्स, र मल्टिजजर्स फिनान्सका लगानीकर्ताले पनि धेरै कमाएका छन् । यी कम्पनीहरुको सेयरमूल्य ९ प्रतिशत धेरैले घटेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।