
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलमेन्ट कम्पनी (एचआईडिसीएल) को बिहीबार सम्पन्न १० औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ८.४२ प्रतिशत लाभांश अनुमोदन गरेको छ ।
बिहीबार काठमाडौंमा सम्पन्न सभाले ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो । सभाले यसअघि जारी गर्दा अवितरित भएको संस्थापक सेयर बिक्रीको बाटो पनि खुला गरेको छ ।
कम्पनीले सभा मार्फत नियमावली संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको हो । सभा मार्फत नियमावलीको दफा १० मा रहेको संस्थापक सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ करोड कित्ताको सीमालाई कम्पनीले संशोधन गरेर घटाएको छ ।
सभाबाट कम्पनीको नियमावलीको दफा १० मा रहेको उक्त व्यवस्थालाई संशोधन गर्दै कम्पनीको संस्थापक सेयरधनी हुनका लागि न्यूनतम एक करोड कित्ता शेयर हुनुपर्ने तर कम्पनी संस्थापना भएपश्चात संस्थापक समूहको सेयर खरिद गर्ने शेयरधनीहरुको हकमा सो सीमा लागू नहुने व्यवस्था गरेको हो ।
कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म शतप्रतिशत हकप्रद सेयर जारी गर्दा सो समयमा ३ करोड ३० लाख कित्ता संस्थापक सेयर अवितरित भएको थियो । सेयर खरीद गर्ने उच्च सीमाले कम्पनीको उक्त सेयरमा एउटा पनि आवेदन परेको थिएन ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गते एक दिन बुकक्लोज गरेको थियो । बुकक्लोजको आधारमा पुस ४ गते आइतबारसम्म कायम सेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न योग्य मानिनेछन् ।
सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट सुधिर पराजुलीलाई सञ्चालक नियुक्त गरेको छ भने आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु नाफा नोक्सान हिसाब सहित वित्तीय विवरण छलफल गरी पारित गरेको छ ।
सभाले महालेखा परिक्षको परामर्श बमोजिम लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत पारित गरेको छ ।
नवीकरणीय उर्जाको क्षेत्रमा समेत हात हाल्ने
कम्पनीको बिहीबार सम्पन्न सभाले कम्पनीको जलविद्युतमा मात्र रहेको व्यवसायिक दायरालाई फराकिलो बनाउँदै नवीकरणीय क्षेत्रमा समेत कार्य गर्नेगरी प्रबन्धपत्र तथा नियमावली संसोधन गरेको छ ।
जलविद्युतमा मात्र सीमित कम्पनीको व्यवसायको दायरालाई विस्तार गर्दै नवीकरणीय ऊर्जा क्षेत्रलाई समेत कम्पनीको व्यवसायमा समेट्नुपर्ने आवश्यकता रहेकोले संसोधन गरिएको हो ।
यससँगै अब कम्पनीले नेपालको जलविद्युत तथा नवीकरणीय ऊर्जाको विकासका लागि आवश्यक पर्ने पूँजीको आपूर्ति गर्नका लागि दीर्घकालीन प्रकृतिका पूँजी परिचालन गर्ने र त्यसरी उपलब्ध हुने वित्तीय श्रोतलाई आर्थिक एवं प्राविधिक रुपले सम्भाव्य जलविद्युत तथा नवीकरणीय ऊर्जासँग सम्बन्धित परियोजनाहरुको सेयरमा लगानी तथा ऋण प्रवाह गर्ने प्रकृतिको कारोबार गर्न सक्नेछ ।










प्रतिक्रिया