बतासमाथि ज्यादती भयो, क्षतिपूर्ति देऊः पोखरा उद्योग वाणिज्य संघ

0
Shares

पोखरा उद्योग वाणिज्य संघले विवादित व्यवसायिक समूह बतास अर्गनाइजेसन माथि कारबाही नगर्न विज्ञप्ती जारी गर्दै चेतावनी दिएको छ ।

संघका महासचिव सुरेन्द्रमान बिजुक्छेले बुधबार जारी गरेको विज्ञप्तिमा बतास समूहले राज्यप्रदत्त अधिकारभित्र रहेर व्यवसाय चलाएको दाबी गर्दै सरकारी रवैया गलत भएको उल्लेख गरिएको छ ।

संघले नारायणहिटी राजदरबारमा बतास समूहले बनाउँदै गरेको संरचना सरकारले प्रक्रिया नपु¥याई भत्काएको बताएको छ।

कानुन र सम्झौतामा उल्लेख गरिएअनुसार नै अघि बढ्नुपर्नेमा जोड दिँदै विज्ञप्तिमा सम्झौता तोड्दा दुबै पक्षले सर्तहरू मान्नुपर्ने पनि बताइएको छ ।

‘सञ्चार माध्यममा आएका टिप्पणीकै भरमा, स्पष्टीकरणको मौकासमेत नदिई माननीय मन्त्रीज्यूकै निर्देशनमा निर्माणाधीन संरचना भत्काइनु भनेको राज्यको गैरजिम्मेवारीको पराकाष्ठा हो,’ विज्ञप्तिमा भनिएको छ, ‘सम्झौतामा दुबै पक्षको हस्ताक्षर हुन्छ र तोड्दा अवलम्बन गर्नुपर्ने प्रावधानहरू पनि स्पष्ट रूपले किटान गरिएकै हुन्छ। ती प्रावधान लत्याउने अधिकार दुबै पक्षलाई नभएको पनि हामी स्मरण गराउन चाहन्छौं।’

नारायणहिटीमा व्यवसायीको सम्पत्तिमाथि नोक्सानी पु¥याएको भन्दै संघले त्यसको क्षतिपूर्ति दिनसमेत माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘राज्यबाट भएको ज्यादतिको क्षतिपूर्ति दिन र कानूनी राज्यको प्रत्याभूति गराउँदै सफाइको मौका दिन एवं व्यवसायीको सम्पत्तिमाथि पु¥याइएको नोक्सानीको क्षतिपूर्तिको लागि पोखरा उद्योग वाणिज्य संघ जोडदार माग गर्दछ ।’

पोखरा उद्योग वाणिज्य संघले होटल आनन्दका सञ्चालक आनन्दराज बतास तथा बतास ब्रदर्स आफ्नो सदस्य भएको प्रष्ट पार्दै बतासले राज्यले दिएको अधिकार क्षेत्रभित्र रहेर नै नारायणहिटीमा रेष्टुराँ चलाउन लागेकोसमेत जिकिर गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।