साधना लघुवित्तको सबै बोनस सेयर पठाउन मुक्तिनाथ क्यापिटलले गर्यो ढिलाई

0
Shares

साधना लघुवित्तको साधारण सभाले पारित गरे अनुसारको लाभांश सेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटलले सेयरधनीको खातामा पठाएको छैनन् ।

सेयर रजिष्ट्रारले संस्थाका सेयरधनीले पाउने भन्दा आधा कम हुने गरी मात्र प्रतिफल खातामा पठाएको हो ।

संस्थाको सार्वजनिक निष्कासन मार्फत १० कित्ता सेयर खरिद गरेर सेयरधनी बनेका स्याङ्जाका नरेश पौडेल (नाम परिवर्तन) ले २५ प्रतिशत बोनस सेयर बापत १.२ कित्ता मात्र पाएका छन् । संस्थाले अघिल्लो आवमा दिएको बोनस सेयर जोड्दा उनीसँग ११.८ कित्ता सेयर कायम थियो ।

सो अनुसार गत आर्थिक वर्षको नाफाबाट दिएको २५ प्रतिशत बोनस सेयर बापत २.९५ कित्ता सेयर पाउनुपर्नेमा उनको खातामा सेयर रजिष्ट्रारले १.२ कित्ता मात्र सेयर पठाएको छ । यस अनुसार पनि उनले पाउनुपर्ने १.७५ कित्ता सेयरको हिसाब नदेखिएको हो ।

उनी एक प्रतिनिधिपात्र भएपनि यस्तो समस्या अधिकांश सेयरधनीले भोग्नु परेको छ । संस्थाले साधारण सेयर निष्कासनपछि दुई आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गरेको छ । साधनाले आर्थिक वर्ष २०७६/०७७ मा १८ प्रतिशत र २०७७/०७८ मा २५ प्रतिशत बोनस सेयर वितरण गरेको छ । सो अनुसार सार्वजनिक निष्कासन मार्फत १० कित्ता साधारण सेयर पारेका सेयरधनीसँग हाल १४.७५ कित्ता हुनुपर्छ ।

तर, सार्वजनिक निष्कासनमा १० कित्ता सेयर पारेका सेयरधनीसँग दुबै आर्थिक वर्षको लाभांश समेत जोड्दा हाल १३ कित्ता मात्र सेयर खातामा देखिन्छ । कम्पनीका अनुसार पनि हालसम्मको प्रतिफललाई पनि जोड्दा सार्वजनिक निष्कासनमा १० कित्ता सेयर पाएको व्यक्तिसँग अहिले १४.७५ कित्ता हुनुपर्छ । सेयर रजिष्ट्रारको रुपमा रहेको मुक्तिनाथ क्यापिटलले सेयरधनीको खातामा ब्यालेन्स अनुसारको लाभांश पठाएको छैन ।

अघिल्लो आर्थिक वर्षमा दिएको १८ प्रतिशत बोनस सेयरमा लगानीकर्ताको खातामा एक कित्ता मात्र आउँने भएपनि बाँकी ०.८ कित्ता होल्ड भएर बस्ने साधना लघुवित्तका एक अधिकारीले बताए । “दशमलव भन्दा पछिको अंकको होल्ड भएर बस्ने भएकाले साधारण सेयर बाँडफाँडमा १० कित्ता सेयर पाएको सेयरधनीसँग हाल १४ कित्ता खातामा हुनुपर्छ, बाँकी ०.७५ कित्ता होल्ड हुने भएकाले देखिँदैन । पछि एक कित्ता पूरा भएपछि खातामा आउँछ” ती अधिकारीले भने,“यदि सो अनुसारको सेयर खातामा छैन भने त्यस सन्दर्भमा सेयर रजिष्ट्रारसँग कुरा गर्छौं ।”

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।