प्राधिकरणको बजेट ४७ अर्ब : पोखरा, भैरहवा र निजगढ विमानस्थल प्राथमिकतामा

0
Shares

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेर आव २०७६÷७७ का लागि ४६ अर्ब ९६ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

प्राधिकरणले राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका तीन विमानस्थल भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थ र निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तथा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिलाई महत्व दिँदै आगामी आवको बजेट ल्याएको हो।  

प्राधिकरणले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको बजेट अनुरुप तीन अन्तर्राष्ट्रिय विमानस्थलका लागि चालू आवमा रु २३ अर्ब विनियोजन गरिएको छ ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेर बजेट बनाइएको जानकारी दिए । उनका अनुसार निजगढ, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि विशेष बजेट विनियोजन गरिएको उल्लेख गरे ।

प्राधिकरणले चालू आवका लागि आठ अर्ब ३३ करोड १३ लाख आम्दानी गर्ने लक्ष्य लिएको छ । जसमा आन्तरिक स्रोतबाट २९ अर्ब र सरकारबाट ऋण सहयोग रु १७ अर्ब प्राप्त गर्ने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ । चालू आवमा ३४ अर्ब पूँजीगत खर्च गर्ने लक्ष्य लिएको प्राधिकरणले चालू खर्चका लागि रु चार अर्ब छुट्टयाइएको छ ।

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुदृढीकरणका लागि रु छ अर्ब बजेट विनियोजन गरिएको छ । प्राधिकरणको विवरणमा मुलुकभार ५० वटा विमानस्थल छन् तीमध्ये हाल ३२ विमानस्थल सञ्चालनमा रहेका छन् ।

प्राधिकरणको बक्यौता दुई अर्ब

हवाई उड्डयन सेवाको नियामक निकाय प्राधिकरणले विभिन्न वायु सेवा प्रदायक कम्पनी तथा सरकारी निकायबाट पुरानो र नयाँ गरी करीब रु दुई अर्ब बक्यौता उठाउन बाँकी रहेको छ ।

प्राधिकरणले सरकारी निकाय तथा विभिन्न एयरलाइन्सबाट गत असार मसान्तसम्म रु दुई अर्ब बक्यौता उठाउनुपर्ने दायित्व भएको उल्लेख गरेको छ । यो बक्यौतामध्ये सबैभन्दा बढी भन्सार विभागको रु ५४ करोड, एयर एशियाको रु २२ करोड, नेकोन एयरको रु चार करोड ७२ लाख ५८ लगायत रहेको छ ।

ति निकायबाट बक्यौता उठाउन बारम्बार ताकेता गर्दा पनि अटेरी गरेको भन्दै प्राधिकरणले बक्यौता तिर्न अटेर गर्ने कम्पनीलाई सार्वजनिक सूचना निकालेर बक्यौता असुल गर्ने भएको छ । झण्डै १५० निकायबाट प्राधिकरणले बक्यौता असुल गर्न बाँकी छ ।