भूमिगत विद्युत् वितरण सञ्चालनमा ल्याइने


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउने भएको छ ।

आगामी हिउँदको विद्युत् आपूर्ति व्यवस्थापनका लागि बिहीबारदेखि आंशिक विद्युत् कटौती गर्दै भूमिगत विद्युत् वितरण सञ्जालमा विद्युत् आपूर्ति सुरु गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् वितरण प्रणाली उपयोग गर्न लागेको छ । यसका लागि असोज १५ देखि २६ गतेसम्म विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सम्बन्धित क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति कटौती गरी भूमिगत लाइन सञ्चालनमा ल्याउने तथा आवश्यक प्राविधिक कार्य गरिने छ । यस अनुसार असोज १५ गते सतुङ्गल बौथली क्षेत्र, असोज १६ गते मच्छेगाउँ दोभान चोक तथा खुसीचोक क्षेत्र, असोज १७ गते मूलपानी क्षेत्र, असोज १८ गते गर्जुधारा क्षेत्र, असोज २० गते, मूलपानी क्षेत्रमा लाइन कटौती हुने छ ।

त्यस्तै असोज २१ गते बलम्बु क्षेत्र, असोज २२ गते कोटेश्वर–बालकुमारी क्षेत्र, असोज २४ गते सिफल क्षेत्र, असोज २५ सतुङ्गल धवलागिरी आवास क्षेत्र र असोज २६ गते धोबीखोला क्षेत्रमा लाइन कटौती गरी भूमिगत लाइनको काम गरिने भएको छ । यद्यपि मौसम प्रतिकूल भएमा निर्धारित विद्युत् आपूर्ति कटौती नगरिने प्राधिकरणले जनाएको छ ।

काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने उद्देश्यले प्राधिकरणले चरणबद्ध रूपमा काम अघि बढाइरहेको जनाएको छ । प्राधिकरणले पहिलो चरणमा काठमाडौँको रत्नपार्क र महाराजगन्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा भूमिगत वितरण प्रणाली निर्माणको गरेको थियो । दोस्रो चरणमा काठमाडौँ जिल्लाका बाँकी सहरी क्षेत्र, तेस्रो चरणमा ललितपुर तथा भक्तपुरका सहरी क्षेत्र र चौथो चरणमा पोखरा तथा भरतपुर महानगरपालिका अन्तर्गतका क्षेत्रमा विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने काम भइरहेको छ ।

यस कार्यक्रम अन्तर्गत ३३ केभी, ११ केभी तथा ४०० भोल्टेजका विद्युत् लाइन भूमिगत गरिनुका साथै अप्टिकल फाइबरसमेत बिछ्याइएको छ ।

“भूमिगत प्रणाली सञ्चालनमा आएपछि विद्युत् आपूर्ति प्रणालीको विश्वसनीयता र सुरक्षा अभिवृद्धि हुने हाम्रो अपेक्षा छ,” प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भने, “वितरण प्रणालीलाई क्रमशः स्वचालित हुने र सहरी सौन्दर्य विस्तारमा पनि यसले ठुलो सहयोग पुर्‍याउने छ ।”

सडक तथा सहरी क्षेत्रमा विद्युत्, टेलिफोन र इन्टरनेट सेवाप्रदायकका तार जथाभाबी तथा गुजुल्टिएर रहँदा उत्पन्न हुने आगलागी तथा अन्य जोखिम नियन्त्रणमा पनि यो कार्यले सहयोग पुग्ने छ ।

प्रकाशित मिति: १५ आश्विन २०८३, बिहिबार  १४ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।