जाल्पाको आईपीओ भर्ने आज अन्तिम दिन, २४ लाखले गरे आवेदन

0
Shares

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले माघ २१ गते शुक्रबारदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा लगानीकर्ताले मंगलबार कार्यालय समयभित्र आवेदन गर्न सक्नेछन् ।

इच्छुक आवेदकले सिडिएससीले विकास गरेको मेरोसेयर मोबाइल एप, वेबसाइट तथा सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मार्फत आवेदन दिन सक्नेछन् ।

लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ५ करोड २२ लाख रुपैयाँ बराबर मूल्यको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको हो । निष्काशित ५ लाख २२ हजार कित्ता सेयरमध्ये जारी पूँजीको ०.५० प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुका लागि र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सेयरका खरीदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । तर आईपीओमा उच्च आवेदन परेका कारण गोलाप्रथाबाट सेयर बाँडफाँड हुने भएकाले १० कित्ताका लागि दिने आवेदन नै प्रयाप्त हुने देखिन्छ ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

२४ लाखले गरे आवेदन

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार बिहान १० बजेसम्ममा २४ लाख २० हजार ८६८ जना आवेदकले सेयर भरेका छन् ।
जसबाट २ अर्ब ९६ करोड ९९ लाख ७७ हजार रुपैयाँ बराबरको २ करोड ९६ लाख ९९ हजार ७७० कित्ता सेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई छुट्टाएको ४ लाख ८७ हजार ९०० कित्ताको ६०.८७ गुणाले बढी हो ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

हाल लघुवित्तको चुक्ता पूँजी १० करोड ७८ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १६ करोड पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।