नर्भिक अस्पताल जनस्वास्थ्य नियमावलीअनुसार टेस्टट्यूब बेबीको इजाजत पाउने पहिलो

0
Shares

नर्भिक इन्टरनेशनल हस्पिटल जनस्वास्थ्य सेवा नियमावली, २०७७ लागू भएपछि टेस्टट्यूब बेबी (आइभिएफ) सञ्चालनको इजाजत पाउने देशकै पहिलो अस्पताल बनेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थापाथलीस्थित नर्भिकलाई नयाँ व्यवस्था अनुसारको मापदण्ड पूरा गरेको आधारमा आइभिएफ सेन्टर सञ्चालनको इजाजत दिएको हो ।

जनस्वास्थ्य सेवा नियमावली, २०७७ बमोजिम टेस्टट्यूब बेबी सञ्चालन गर्ने इजाजतपत्रका लागि नर्भिकले २०७८ साउन १२ गते निवेदन दिएको थियो । २०७८ माघ २५ गते सो निवेदन उपर कार्यबाही भई सचिवस्तरको निर्णयबाट नर्भिकलाई आइभिएफ सेन्टर सञ्चालनको इजाजत दिइएको हो ।

जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ बमोजिम नर्भिकलाई आइभिएफ सेन्टर सञ्चालनको इजाजत दिइएको महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले जानकारी दिए ।

उनका अनुसार जनस्वास्थ्य नियमावली २०७७ ले व्यवस्था गरे अनुसारको मापदण्ड पूरा गरी आइभिएफ सेन्टर संचालनको इजाजत पाउने नर्भिक पहिलो अस्पताल बनेको छ । यसअघि विभिन्न ठाउँमा सञ्चालनमा रहेका आइभिएफ सेन्टरहरु कुनै जिल्ला, कुनै क्षेत्रबाट इजाजत प्राप्त थिए । उनले भने, तर जनस्वास्थ्य नियमावलीमा उल्लेख भएको मापदण्ड पूरा गरी तथा नयाँ व्यवस्था आएपछि आइभिएफ सेन्टर संचालन गर्ने नर्भिक पहिलो अस्पताल बनेको हो ।

नर्भिकले अस्पतालको मुख्य भवनको विपरीत दिशामा अलग्गै भवनमा आइभिएफ सेन्टरका सबै आधुनिक पूर्वाधारहरु तयार गरी परामर्श सेवा संचालन गर्दै आएको छ । सुविधा सम्पन्न र आधुनिक आइभिएफ सेन्टरमा जेनेटिक ल्याबसहितको अत्याधुनिक उपचार सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ । नर्भिक आइभिएफ सेन्टर अत्याधुनिक जेनेटिक ल्याब भएको देशकै पहिलो र एकमात्र आइभिएफ सेन्टर पनि हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७८, मंगलबार  १२ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।