लगानीकर्ताले सस्तोमा सेयर उठाएपछि साताको तेस्रो कारोबार दिन मंगलबार दिनजस्तै सेयर लगानीकर्ताहरुका लागि पनि मंगल भएको छ । यसदिन नेप्से अर्धशतक बढीले बढेको हो ।
मंगलबार नेप्से सूचक नेप्से १.९७ प्रतिशत अर्थात ५३.३० अंकले बढेर २७५४.२८ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको सेयर मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.८३ अंकले बढेर ५२२.१३ बिन्दुमा पुगेको छ ।
मंगलबार तीन घण्टा सुस्ताएको कारोबारको अन्तिम एक घण्टामा नेप्सेमा तीव्र उछाल आएको हो । दिनभरमा कूल २२४ वटा कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता सेयर ४३ हजार ५१९ वटा संख्यामा खरिद बिक्री हुँदा ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँको कारोबार भएको छ ।
हाइड्रोपावरमा चमक
स्टक एक्सचेञ्जका अनुसार आज कारोबार भएका सबै उपसमुहगत सूचकमा हरियाली छाएको छ । कूल १३ उपसमूहमध्ये सबैभन्दा धेरै हाइड्रोपावर ४.३२ प्रतिशतले बढेको छ ।
यस्तै अन्य ३.३८ प्रतिशत, फाइनान्स २.८५, लघुवित्त २.८२, विकास बैंक २.७१, लगानी २.४९, होटल १.६३, निर्जीवन बीमा १.४९, ब्यापार १.३५, जीवन बीमा १.२५ प्रतिशतले बढेको छ । बैंकिङ्ग ०.८४ प्रतिशत, उत्पादन ०.५४, म्युचुअल फण्ड ०.२० प्रतिशतले बढेको छ ।
आज हिमालयन डिष्टीलरी कम्पनी लिमिटेडको सर्वाधिक २२.७८ करोडको कारोबार भएको छ । यस्तै नेशनल हाइड्रोपावर कम्पनीको १८.५४ करोड, नेपाल टेलिकम १८.२१ करोड, अरुण भ्याली हाइड्रोपावर १३.५३ करोड, जीवन विकास लघुवित्त १३.२८ करोड, अपि पावर ११.७५ करोड रूपैयाँ बराबरको कारोबार भएको छ । यस्तै एचआईडिसीएल, नेपाल लाइफ, अपर तामाकोशी, र निफ्रा शीार्ष कारोबार हुने दश कम्पनीभित्र समेटिएका छन् ।

मंगलबार न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर ४८९.५० रूपैयाँ पुगेको छ । यस्तै तेह्रथुम पावरको ८.७०, हिमालयन उर्जा विकास कम्पनी ७.७५, कालिका पावर ७.६५, छ्याङ्दी हाइड्रोपावर ७.६१, सिनर्जी पावर ७.४८ प्रतिशतले बढेको छ ।
यसैगरी नारायणी डेभलपमेन्ट बैंकको लगानीकर्ताले ६.७३ प्रतिशत, राधी विद्युत कम्पनीका लगानीकर्ताले ६.५४ प्रतिशत, जीवन विकास कम्पनीको ६.५० र विजय लघुवित्तको सेयरमूल्य ६.२५ प्रतिशतका दरले बढेको छ ।
यसदिन सामुहिक लगानी कोष इकाईका लगानीकर्ताले गुमाएका छन् । एनआईसी एशिया ब्यालेन्स फण्डको मूल्य सबैभन्दा धेरै ३.१४ प्रतिशत घटेको छ । यस्तै एनआईसी एशिया ग्रोथ फण्ड, सिटिजन्स म्युचुअल फण्ड१, एनआइएबिएल समृछि फण्ड, स्वाभिमान लघुवित्त, नबिल इक्वीटी फण्ड, लक्ष्मी उन्नति कोष, मेगाल म्युचुअल फण्ड, आरबिबि म्युचुअल फण्डको इकाईमूल्य पनि १ प्रतिशत बढीले घटेको छ ।
सूचक बढेसँगै लगानीकर्ताको सम्पत्ति मापक कुल बजार पूँजीकरण पनि बढेर ३८ खर्ब ९२ करोड ७६ लाख ६ हजार रुपैयाँ पुगेको छ । हिजो ३८ खर्ब १७ अर्ब ९३ करोड रहेकोमा मंगलबार एकैदिन ७४ अर्ब ८३ करोडले बढेको नेप्सेले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया