
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले नागरिकप्रति उत्तरदायी र जिम्मेवार भएर काम गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई निर्देशन दिएकी छिन् ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको सोमबार अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले मालपोत कार्यालयहरुप्रति जनतामा बसेको छवीसँग मन्त्रालय र सरकारको पनि छवि जोडिएकाले यसमा सुधार गर्न इमान्दार भएर काममा लाग्नु आवश्यक रहेको बताएकी हुन् ।
मन्त्री श्रेष्ठले मालपोत लगायतका कार्यालयहरु नागरिकसँग प्रत्यक्ष जोडिएको सेवा प्रदायक संस्था भएकाले जनताले परिवर्तन महशुस गर्ने र देखिने गरी काम गर्न विभागलाई निर्देशन दिइन् ।
विभागले नागरिकका पक्षमा काम गर्दा आइपर्ने नीतिगत र व्यवहारिक समस्या छन् भने त्यो समाधान गरेर कानुनी व्यवधान फुकाउन मन्त्रालय सदैव तयार रहेको पनि मन्त्री श्रेष्ठले बताइन् ।
मन्त्री श्रेष्ठले देशभरका मालपोत कार्यालयहरुमा प्रविधिको उच्चतम प्रयोग गरी सेवालाई चुस्त दुरुस्त बनाउने, भूमिको दोहन नियन्त्रण गर्ने तथा सरकारी र सार्वजनिक जग्गाको संरक्षण गर्ने विषयमा कुनै कसर नरहने गरि काम गर्न समेत विभागलाई निर्देशन दिइन् ।
छोटो समयमा कर्मचारीको सरुवा हुने प्रवृतिले सेवा प्रवाहमा समस्या उत्पन्न भइरहेको भन्दै कर्मचारी सरुवालाई चक्रिया प्रणालीमा लैजानुपर्ने र त्यसको सुरुवात गर्न समेत मन्त्री श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई आग्रह गरेकी थिइन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया