भरोसा नेपाल बहुउद्देश्यीय सहकारीका दुई सञ्चालक ६ करोड ठगीमा पक्राउ

0
Shares

काठमाडौं महानगरपालिका–३१ पुरानो बानेश्वरस्थित रहेको भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका दुई सञ्चालकलाई नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

नेपाल प्रहरीले ६ करोड २५ लाख रुपैयाँ रकम ठगी गरेको अभियोगमा सहकारी सञ्चालक समितिका अध्यक्ष काठमाडौं महानगरपालिका–३० बस्ने ४२ वर्षीय सुरज बस्नेत र उपाध्यक्ष काठमाडौं महानगरपालिका–१६ पकनाजोल बस्ने ५७ वर्षीय शिव पाण्डेलाई फागुन ४ गते पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार निक्षेपकर्ताहरुले उक्त संस्थामा बचत तथा आवधिक खाता खोलेर जम्मा गरेको रकम उनीहरुले हिनामिना तथा आफूखुशी गरेर सहकारीको खातामा नभई आफ्नै परिवारका सदस्य र आफन्तहरुका नाममा राखेर उक्त ठगी गरेको खुलेको छ ।

सो पश्चात सहकारीमा ताला लगाएर फरार रहेको सञ्चालकलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाण्डौंका छुट्टा-छुट्टै स्थानबाट पक्राउ गरेको हो ।

अन्य बचतकर्ताहरुले समेत उक्त सहकारीमा आफ्नो निक्षेप तथा ब्याज रकम नपाई कानुनी कारवाही गर्नुपर्ने भएमा सम्पर्क गर्न ब्यूरोले आग्रह गरेको छ । साथै यस सम्बन्धमा ब्यूरोबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।