विराटनगरबाट पनि सुरु भयो अयोग्य नोटबाट ब्रिकेट उत्पादन

0
Shares

नेपाल राष्ट्र बैंकले विराटनगरबाट पनि पुराना तथा झुत्रा नोटबाट ब्रिकेट उत्पादन सुरु गरेको छ । अयोग्य नोट जलाउने गरेको केन्द्रीय बैंकले पुनःप्रयोगको प्रणाली विकास गरेको हो ।

केन्द्रीय बैंकले नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकरण गर्ने उद्देश्यका साथ बैंक नोट स्रेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को विकास गरेको हो । केहि समयअघि काठमाडौ तथा नेपालगञ्जबाट अयोग्य नोटको ब्रिकेट बनाउने काम सुरु गरिसकेको केन्द्रीय बैंकले शुक्रबार देखि विराटनगरबाट पनि औपचारिक सुरुवात गरेको छ । विराटनगर कार्यालयको प्रणालीको औपचारिक सुरुवात गभर्नर महाप्रसाद अधिकारीले गरेका छन् ।

चलनचल्तीको निम्ति अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिँदै आइएकोमा बीएसबीएस मेसिनको प्रयोग मार्फत स–साना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्ने उद्देश्यले उक्त प्रणाली अवलम्बन गरिएको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयकबाट सुरु भएको सो प्रणाली थापाथली, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा उक्त प्रणाली जडान गरी सञ्चालनमा ल्याउने बैंकको योजना छ ।

विराटनगर कार्यालयको बीएसबीएसको औपचारिक सुरुवात गर्दै गभर्नर अधिकारीले बैंकको कार्यसम्पादनलाई आधुनिक र प्रविधिमैत्री बनाउने सुरुवातको एउटा महत्वपूर्ण उपलब्धि रहेको बताए । बीएसबीएस मार्फत तयार गरिने ब्रिकेट प्रयोगको सम्भावित क्षेत्रबारे अध्ययन भइरहेको उनको भनाई छ । साथै बीएसबीएसलाई व्यवस्थित तुल्याउन नोट धुल्याउने नियमावली संशोधन र यससम्बन्धी कार्यविधि तर्जुमाको प्रक्रिया अन्तिम चरणमा पुगेको समेत उनले बताए ।

बीएसबीएस मेसिनले कटन, पोलिमर लगायत सबै किसिमका बैंक नोटका प्याकेट र बन्डललाई टुक्र्याएर ब्रिकेट तयार गर्दछ । उक्त मेसिनमा दुई वटा खण्ड रहन्छन् । पहिलो खण्डले नोटलाई टुक्र्याउने कार्य गर्छ भने दोस्रो खण्डले टुक्र्याइएको नोटबाट ब्रिकेट तयार गर्छ । उक्त मेसिनमा एक पटकमा २०० केजीसम्म बैंक नोट राख्न सकिन्छ र मेसिनले प्रतिघण्टा १०० केजी नोटलाई टुक्र्याउने क्षमता राख्छ ।

यसरी टुक्र्याइएको नोटलाई प्रतिघण्टा २०० केजीको दरले प्रशोधन गरी ब्रिकेट तयार गर्न सकिन्छ । बीएसबीएस मेसिनलाई प्रतिवर्ष एक हजार घण्टासम्म सञ्चालन गर्न सकिनेछ । यस्तो ब्रिकेट ईंटाभट्टा, कागज कारखाना, कोइला प्रयोग गरिने उद्योगसँगै घरायसी प्रयोजनमा समेत उपयोगी हुने विश्वास लिइएको छ ।

ब्रिकेट बनाउने मेसिनहरू नेदरल्याण्डबाट आयात गरिएको हो । बीएसबीएस मार्फत नोट धुल्याउने पद्धतिलाई नीतिगत रूपमा व्यवस्थित गर्ने गरी नोट धुल्याउने सम्बन्धी प्रचलित नियमावलीमा आवश्यक संशोधन गर्ने प्रक्रियासमेत अघि बढेको छ । यसरी सञ्चालनमा ल्याइएको बैंक नोट स्रेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) वातावरणीय दृष्टिले समेत उपयोगी हुने राष्ट्र बैंकको अपेक्षा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।