रुस-युक्रेन युद्धको असर अटोमोबाइल क्षेत्रमा, कार उत्पादनमा कटौती

0
Shares

रुसले युक्रेनमा विशेष सैनिक अप्रेशन सञ्चालन गरेपछि सुरु भएको युद्धको प्रभाव विश्व तेल बजार, सेयर बजार देखि अटोमोबाइल बजारसम्म परेको छ ।

विश्वव्यापी रुपमा बढेको चीप अभावबाट घाटा बेहोरिरहेका अटोमोबाइल उद्योग, रुस–युक्रेन युद्धले अझ प्रभावित बनेका छन् । रुस कच्चा तेल र प्राकृतिक ग्यासको मात्रै नभई सेमीकन्डक्टरको पनि बिक्रेता रहेको छ । कार तथा स्मार्ट फोन, कम्प्यूटर, रोबोट बनाउन प्रयोग हुने चीपको अभाव विश्वव्यापी रुपमा रहेको छ ।

चीप बनाउन अत्यावश्यक पर्ने निकेल र प्यालेडियमको सबैभन्दा ठूलो बिक्रेता तथा उत्पादक रुस रहेको छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि चीप तथा सेमिकन्डक्टर बनाउन आवश्यक पर्ने धातुहरुको आपूर्तिमा कमी आउने अनुमान अटोमेकरहरुको छ ।

युद्धका बीच चेक रिपब्लिकमा रहेको भक्सवागनको स्कोडा अटो गु्रपले कारहरुको उत्पादनमा कटौती गरेको छ । रुस–युक्रेनबीचको युद्धका कारण स्कोडा गु्रपले कार निर्माणमा आवश्यक पर्ने केही पुर्जाहरुको आपूर्तिमा गम्भीर असर पुगेका कारण इन्येक आइभी नामक मोडलका कारहरुको उत्पादन कम गरेको बताएको छ।

पश्चिमी युक्रेन कार निर्माणमा अत्यावश्यक पर्ने सामाग्रीका सप्लायर रहेको र आपूर्ति बन्द हुँदा कार निर्माणमा समस्या उत्पन्न भएको स्कोडाले जानकारी दिएको छ । चेक रिपब्लिकमा कार निर्माणमा कटौती गरियता पनि रुसमा भने निर्माण कार्य रोकिएको छैन ।

स्कोडाले सन् २०२१ रुसमा मात्रै ९० हजार कारहरु बिक्री गरेको थियो । युक्रेन र रसिया स्कोडाका बिक्रेता रहेका थिए । सन् २०२२ मा दुवै देशहरुबाट कारहरुको माग घट्ने र चीपको अभाव हुँदा उत्पादन मै समस्यमा आउने स्कोडाले जानकारी दिएको छ ।

रुस भक्सवागन, टायोटा, स्टालेन्टिस जस्ता अटोमेकर कम्पनीहरुको उत्पादक क्षेत्र रहेको छ । अधिकांश देशमा यी ब्रान्डका कारहरु गुड्ने गर्छन् । युद्धले आपूर्तिमा कमी ल्याउनुका साथै उत्पादन क्षमता पनि समस्या उत्पन्न गर्छ ।

नेपालको अटोमोबाइल क्षेत्रमा पनि रुस–युक्रेन युद्धले अप्रत्यक्ष असर पु¥याउने नेपाल अटोमोबाइल एसोसिएसनका अध्यक्ष ध्रुव थापाले जानकारी दिए । युद्ध लम्बिएसँगै इन्धन तथा पेट्रोलियम पदार्थको मूल्य बढ्न जाने, जसकारण कारहरुको बिक्रीमा समस्या आउने थापाले बताए । यसैगरी युद्धले लामो रुप लिएसँगै चीपको अभाव हुन जाने र कारहरुको उत्पादनमा असर पर्ने थापाले जनाए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।