राष्ट्रिय उपभोक्ता मञ्चले खाने तेलको मूल्य बढाउने खाद्य तेल उद्योगी तथा व्यवसायीलाई कारबाही गर्न सरकार समक्ष माग गरेको छ ।
अन्तराष्ट्रिय बजारमा खाद्य तेलको कच्चा पदार्थको मूल्य बढेको कारण देखाउदै खाद्य तेलको मूल्य अत्याधिक बढाई आम उपभोक्तालाई महंगीको भार थोपर्ने काम भएको मञ्चको आरोप छ । बुधबार एक विज्ञप्ति जारी गर्र्दै मञ्चले भनेको छ, अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको भन्दै अत्यधिक मूल्य बढाउने उद्योगीलाई कारबाही गर्नुपर्छ ।’ 
व्यापारीहरुले रुस–युक्रनबीच भएको युद्धको कारण देखाएर खाने तेलको खुद्रा मूल्य प्रतिलिटर ६० रुपैयाँसम्म बढाएर सरकारलाई चूनौती दिएको मञ्चको दाबी छ । भर्खर ६ दिन मात्र भएको युक्रेन युध्दलाइ कारण देखाइ महिनौं अगाडी देखि स्टकमा रहेको तेलको बजार मूल्य बढाउनु नियम कानून बिपरित मात्र होइन व्यवसायिक नैतिकता भन्दा पनि परको बिषय हो र पूर्णतः कार्टेलिंग गर्दै कालोबजारी गरेको प्रष्ट हुन्छ ।मञ्चद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
देशको प्रशासनिक कमजोरी र नियमन गर्ने निकायको उदाशिनताको कारण केही उद्योगीहरुले बजारमा दादागिरी नै देखाइ रहेको कारण खाद्य तेल मात्र होइन चिनी, चामल लगायतका दैनिक उपभोग्य वस्तुको बजार आपूर्ति व्यवस्था प्रणालीलाइ खलबलाउने र बजार कव्जा जमाउने काम केही कुत्सित नियत राख्ने उद्योगी व्यापारीले गर्दै आएको मञ्चको आरोप छ ।
उद्योगीहरुले एक पटक कच्चा पदार्थ मगाउंदा कम्तिमा एक महिनाको लागी पुग्ने गरी आयात गर्ने गरेको, बजारमा त्यतिकै मात्रामा स्टकमा रहने गरेको अवस्था हुंदा हुंदै युध्द शुरु गरेको मितिबाट नै तेलको मूल्य बढाउनु भनेको व्यवसायिक अराजकता बाहेक अरु केही हुनै सक्दैन । यस्तो काम सरकारको नियमन निकायहरुको कमजोर व्यवस्थापनको कारणले मात्र हुन सक्ने हुंदा यस बिषयमा तत्काल उचित कदम चाली पाउन तथा अनुचित व्यापारिक कृयाकलाप गर्ने उद्योगी व्यवसायी माथि आवश्यक कानूनी कारवाही गरी पाउ भन्दै प्रधानमन्त्री समक्ष अनुरोध गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया