
तनहुँको व्यास नगरपालिका–४ दमौलीस्थित मुख्य चोकमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ । भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगो चार घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो ।
आज बिहान १० बजेदेखि आगलागी सुरु भएकामा अपराह्न २ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीको एकिन क्षति प्राप्त नभइसकेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । “हामी क्षतिको विवरण सङ्कलन गर्दैछौँ, पछि यसबारेमा जानकारी गराउँछौँ”, खड्काले भने ।
आगलागीबाट चार/पाँच घरमा क्षति पुगेको छ । व्यास नगरपालिकाका साथै पोखराबाट आएको दमकल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ आफैँ चढेर आएको हेलिकप्टरले आगो निभाउन सहयोग पुगेको थियो ।
साँघुरो ठाउँ भएकाले दमकल छिराउन समस्या भएको थियो । पछि भूपाल हार्डवेयरसँगै रहेको टहरा डोजरले भत्काएर दमकल छिराइएको थियो । सिम्रिक एयरको हेलिकप्टरले मादी नदीबाट पानी ओसार्दै आगो निभाउन सहयोग पु¥याएको थियो । हेलिकप्टरकै कारण आगलागी छिटो नियन्त्रणमा लिन सकिएको बताइएको छ ।
आगलागी नियन्त्रणका लागि चापाघाटस्थित कालीभञ्जन गण (इ), नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी लागिपरेका थिए ।
आगलागीको घटनाप्रति श्रममन्त्री श्रेष्ठद्वारा दुःख व्यक्त
तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा आइतबार बिहान आगलागीको घटनाप्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दुःख व्यक्त गरेका छन् ।
आगलागी भएको केही समयपछि आगो निभाउन सिम्रिक एयरको हेलिकप्टरबाट दमौली पुगेका मन्त्री श्रेष्ठले पीडितलाई भेटी दुःख व्यक्त गरेका हुन् ।
मन्त्री श्रेष्ठले पीडित परिवारलाई सरकारका तर्फबाट उचित क्षतिपूर्ति दिइने प्रतिबद्धता व्यक्त गरेका थिए । “अब बस्ने मन्त्रिपरिषद् बैठकमा आगलागी पीडितलाई क्षतिपूर्ति प्रदान गर्नका लागि पहल गर्छु”, श्रेष्ठले भने।
जनतालाई परेको पीरमर्कामा अहिलेको गठबन्धनको सरकार क्रियाशील भएर काम गर्ने बताउँदै मन्त्री श्रेष्ठले भने, “सरकार जनताको अभिभावक हो, जनतालाई परेको पीरमर्कामा सरकार सधैंँ जनताको साथमा छ ।”
बिर्तामोडमा ग्यास चुहिएर आगलागी
झापाको बिर्तामोड नगरपालिका–४ स्थित भद्रपुर रोडमा आज दिउँसो आगलागी भएको छ । बिर्तामोड–४ का रमानन्द साहको एकतले पक्की टिनले छाएको घरमा ग्यास चुहावट भई आगलागी भएको इलाका प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।
आगलागीबाट घरमा भएको सबै सामग्री जलेर नष्ट भएको छ । उक्त घरमा दूध व्यवसाय गरेर डेर गरी बस्दै आएका थिए । आगलागी भएको क्षतिको विवरण भने आउन बाँकी छ ।
आगलागी नियन्त्रणमा बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका बारुणयन्त्र परिचालन गरिएको थियो भने आगलागी सुरु भएको एक घण्टाभित्र पूर्णरुपमा नियन्त्रणमा आएको प्रमुख आचार्यले बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया