रियल सेक्टरका कम्पनीहरुलाई लिस्टिङ्ग गर्ने वातावरण सिर्जना गर्ने बोर्ड अध्यक्षको दाबी

0
Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेश कुमार हमालले वास्तविक क्षेत्र (रियल सेक्टर) का कम्पनीहरुलाई लिस्टिङ्ग गर्ने वातावरण सिर्जना गर्ने बताएका छन् ।

सेबोनद्वारा सोमबार आयोजित आर्थिक पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले रियल सेक्टर सबैलाई एउटै मापदण्डमा राखेर बोर्डको तर्फबाट गर्नुपर्ने काम अगाडि बढाउन तयार रहेको बताएका हुन् ।

उनले भने, “ रियल सेक्टरका कम्पनीहरु लिस्टिङ्ग गर्नु हाम्रो उदेश्य हो । यहाँहरु आउनुहोस्, यहाँलाई लगानी बोर्ड तथा धितोपत्र बोर्डले उचित सहजीकरणको भुमिका निर्वाह गर्छ ।”

ठूला ठूला कम्पनीहरु नहुनु मार्केटमा लगानीकर्तालाई एउटा अवसर पनि हुने भन्दै उनले ठूला कम्पनीहरु बजारमा आउँदा स्थायित्व र विकासका लागि पनि आवश्यक हुने उल्लेख गरे । ठूला कम्पनीहरु बढी जिम्मेवार, निष्पक्ष, पारिदर्शी हुने भएकाले लगानीकर्तालाई जोखिम पनि कम गर्न पनि ठूला कम्पनीहरुको पूँजीबजारमा प्रवेश गराएर विविधीकरणका गर्न आवश्यक रहेको उनको भनाई छ ।

क्षेत्रगत रुपमा पनि बजारको उतार-चढावलाई नियन्त्रण गर्न रियल सेक्टरका कम्पनी भित्र्याउन जरुरी भएकाले त्यसका लागि बोर्डले प्रमुख भुमिका खेल्ने उनले बताए ।

उनले भने, “रियल सेक्टरका कम्पनीहरुलाई हामीले लिस्टिङ्गमा ल्याउनुपर्ने छ । हामीसँगै १२ सयभन्दा बढी ठूला कर तिर्ने कम्पनीहरु छन् । तर शुन्यजस्तो एकदमै न्यूनतम रुपमा मात्रै स्टक एक्सचेञ्जमा लिस्टेड छ । हामीले ती कम्पनीहरुलाई भित्र्याउनका लागि बुक विल्डिङ्गको प्रकृयालाई अगाडि बढाउनुपर्ने छ ।”

बुक विल्डिङ्ग संसारभरि नै मान्य प्रकृया भएकाले नेपालले पनि सोही अनुसार आफ्नो भुमिका निष्पक्ष रुपमा सबैलाई एउटैमापदण्डमा राख्नुपर्ने उनले बताए । उनले भने, “हामीसँग जुन निर्देशिका छ, त्यो भारत, श्रीलङ्का, तथा अन्य देशहरुसँग तुलना गरेर बनाएकाले त्यहाँको बेष्ट प्राक्टिसेस मध्येकै एउटा हो । ”

अध्यक्ष हमालले नेपालमा पनि रियल सेक्टरका थुप्रै नाफा कमाएका र सबल कम्पनीहरु भएपनि उनीहरुलाई भित्र्याउन नसकिएकाले रियल सेक्टर कम्पनीहरुलाई पूँजी बजारमा भित्र्याउनुपर्ने आवश्यकता रहेको बताए । “रियल सेक्टरका कम्पनीहरु ल्याउनका लागि हामीले के गर्नुपर्यो ? हाम्रो भूमिका के हुनुपर्यो ? म यहि मञ्ञ्चबाट भन्छु हाम्रो रियल सेक्टरका जतिपनि कम्पनीहरु छन्, जो अहिले मार्केटमा लिस्टेड भएका छैनन् । उहाँहरुलाई हामी भित्र्याउन चाहन्छौं । हामी आह्वान गछौं। आउनुहोस् हामीबाट के गर्नुपर्छ सहजीकरण ? हाम्रो भुमिकामा यहाँहरुले के खोज्नुभएको छ ।”

उनले बोर्ड नेतृत्वले आफ्नो अभिभार निभाएको खण्डमा ठूला कम्पनीहरु बजारमा सूचीकृत हुने र त्यसले सरकारको राजश्व पनि बढ्ने भएकाले अहिलेको भोलाटाइल मार्केटमा रियल सेक्टर कम्पनी ल्याउनैपर्ने उनले दाबी गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।