सहारा विकास बैंक लिमिटेड (SHBL) को लगानीकर्ताहरुको सम्पत्ति ५७ महिनापछि फुकुवा भएको छ । बैंकको सेयर लगानीकर्ताहरुले गरिमा विकास बैंकमा विलय भई सूचीकृत भएपछि धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्नसक्ने भएका हुन् ।
एकीकृत कारोबार भएपछि सहारा विकास बैंकका सेयरधनीहरुसँग रहेको सेयर गरिमा विकास बैंकको नाममा लगानीकर्ताको हितग्राही खातामा जम्मा भएको छ ।
बैंकको सेयर गरिमा विकास बैंकको नाममा नेप्सेमा सूचीकृत भएपछि लगानीकर्ताले सेयर किनबेच गर्न सक्ने भएका हुन् ।
गरिमा विकास बैंक लिमिटेडले फागुन २५ गते बुधबार सहारा विकास बैंक लिमिटेडलाई १ः१ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य १०० रूपैयाँ दरको २७ लाख २२ हजार ७०६ दशमलव ०४ कित्ता सेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार हुन सक्ने गरी सूचीकृत गरेको हो ।
गरिमा विकास बैंक लिमिटेडले सहारा विकास बैंकलाई गत २०७८ कार्तिक २८ गतेदेखि एकीकृत कारोबार गरेको थियो । गरिमा विकास बैंकले सम्पूर्ण प्रकृया सकाएर एकीकृत कारोबारको २ महिनापछि सहाराको सेयर आफ्नो नाममा सूचीकृत गरेको हो ।
यसबीचमा बैंकले गरेको मर्जर तथा प्राप्ती प्रकृया (विलय हुने सम्झौता) सम्पन्न हुन नसक्दा बैंकका लगानीकर्ताहरु ४ वर्ष ९ महिना सेयर कारोबारबाट वञ्चित भएका हुन् । तत्कालीन देव विकास बैंकले प्राप्ति गर्ने भन्दै सम्झौता गरेपछि बैंकको दोस्रो बजारमा कारोबार बन्द भएको हो। तर उक्त सम्झौता रद्द भए पनि सेयर कारोबार भने खुल्न सकेको थिएन । बैंकको सेयर २०७४ जेठ २५ गते अन्तिम पटक कारोबार भएको थियो । उक्त दिन बैंकको सेयर प्रतिकित्ता ४६० रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।
नेप्सेमा सहारा विकास बैंकको कारोबार ४ वर्षदेखि रोक्का रहेको छ । तत्कालीन देवः विकास बैंकले सहरा विकास बैंकलाई प्राप्ती गर्ने सम्झौता गरेपछि बैंकको सेयर कारोबार रोक्का भएको थियो । हाल देवः विकास बैंक कुमारी बैंकसँग विलय भैसकेको भएपनि देवःसँगैको मर्जर तथा प्राप्ती प्रक्रिया रद्द भएपछि सहारा विकास बैंक व्यवस्थापन भने अन्य संस्थासँग मर्जर गर्न बैंक असफल भएपछि बैंकका सेयरधनीले करिब पाँच वर्ष आफ्नो सम्पत्ती बिक्री गर्न नपाउँदा बन्धक बनेको थियो ।
नेपाल राष्ट्र बैंकले दुबै कम्पनीलाई कार्तिक १ गते तथा कार्तिक ११ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट मर्जर तथा प्राप्तिको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । सहारा विकास बैंकको प्राप्ति हुने अघिल्लो दिनसम्म कायम रहेको लेखामा उल्लेखित मूल्यमा सम्पूर्ण चलअचल सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु प्राप्ति एक्विजिशन गर्ने संस्था गरिमा विकास बैंक लिमिटेडले व्यहोर्ने, सकार्ने एवं प्राप्ति हुने कम्पनीबाट हाल सम्म भए गरेका सम्पूर्ण कारोबार प्राप्ति गर्ने कम्पनीबाट भए गरेको मानिने छ ।
प्राप्ति हुने कम्पनीले जारी गरेका सेयर प्रमाणपत्र प्राप्ति गर्ने कम्पनीमा रुपान्तरण हुने एवं प्राप्ति हुने कम्पनीले गरेका करारहरु प्राप्ति गर्ने कम्पनीले नै गरे सरह कायम रहने हिसाबले सहाराको सबै दायित्व गरिमा विकास बैंकमा सरेको छ । गरिमा विकास बैंकमा सहारा विकास बैंक प्राप्ति भए पश्चात गरिमा विकास बैंक लिमिटेड ( ‘ख’ वर्ग, राष्ट्रियस्तर ) को नामबाट एकीकृत कारोबार भएको थियो । प्राप्ती पश्चात बैंकको केन्द्रीय कार्यालय काठमाण्डौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.२ लाजिम्पाटमा रहेकाे छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया