मर्जरमा जाने बैंकलाई हकप्रद दिए न्यून पूँजीकोषको समस्या समाधान हुने

0
Shares

नेपाल राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरुलाई हकप्रद सेयर निष्कासन अनुमती दिएको खण्डमा न्यून प्राथमिक पुँजीकोषको समस्या समाधान हुनेछ । मर्जर पछि कर्जा असुलीमा सुधार हुने र हकप्रद सेयरले पुँजीकोष बढाउने मद्दत गर्ने देखिएको हो ।

नेपाल राष्ट्र बैंकले हाल हकप्रद सेयर निष्कासन अनुमती रोकेको छ । राष्ट्र बैंकले मर्जरलाई प्राथमिकता दिदै हकप्रद सेयर रोकेको हो । राष्ट्र बैंकले हकप्रद सेयर रोकेपछि पुँजीकोष बढाउने उपाय समेत बैंकहरुलाई भएन । बैंकहरुसंग हाल भएको चुक्तापुँजी तथा रिजर्भका आधारमा जोखिम विश्लेषण नगरी आक्रामक रुपमा कर्जा विस्तार गर्दा धेरै बैंकहरुको प्राथमिक पुँजी कोषमा दबाव पुग्यो । त्यसले गर्दा अहिले बैंकहरुले कर्जा लगानी नै रोक्नु परेको अवस्था छ ।

बैंकहरुमा प्राथमिक पुँजीकोष ८.५ प्रतिशत नपुगेर कर्जा नै रोक्नुपर्ने स्थितीलाई समेत सहज हुनेगरी नेपाल राष्ट्र बैंकले मर्जरमा गएका बैंकहरुलाई हकप्रद सेयर जारी गर्न अनुमती दिने व्यवस्था गर्नुपर्ने एक बैंकरले बताए । “मर्जर गरेको कम्पनीलाई हकप्रद सेयर जारी दिने र नगद लाभासं वितरण गर्ने बाटो खुला गर्ने हो भने मर्जरको लागि पुनः बातावरण बन्छ,” ती बैंकरले भने, “ नेपाल राष्ट्र बैंकले बैंकहरुको संख्या घटाउन मर्जरको नीति लिएको भएपनि पुँजीकोषमा खासै योगदान पुग्दैन, त्यसका लागि मर्जरमा गएका कम्पनीहरुको हकमा पुँजीकोष प्रयाप्तताका लागि हकप्रद सेयरको अनुमती दिने व्यवस्था गर्नु पर्ने देखियो ।”

पछिल्लो समयमा बैंकहरुमा देखिएको न्यून पुँजीकोषको समस्यालाई आधार बनाए नेपाल राष्ट्र बैंकले मर्जरको नीतिलाई सफलता दिन सक्ने अवस्था छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको पुँजीकोष अनुपात ११ प्रतिशत तोकेको छ । त्यसमा पनि प्राथमिक पुँजीकोष अनुपात साढे ८ प्रतिशत हुनुपर्ने व्यवस्था छ । राष्ट्र बैंकका अनुसार यो ‘टायर वान क्यापिटल’ हो । त्यसैगरी बैंकहरुले पुँजीकोष अनुपात ११ प्रतिशत पु¥याउनका लागि ‘टायर टु’ लाई पनि त्यसमा समायोजन गर्न पाउछन ।

बैंकहरु व्यवसाय विस्तारमा आक्रामक हुँदा प्राथमिक पूँजीकोषमा दबाव, मर्जरमा गए राहत

धेरै बैंकहरु क्यापिटल एडिक्वयसी नपुगेर समस्यामा परेको बताउँदै ती बैंकरले विजनेस गर्न बैंकहरुसंग पैसा नभएको गुनासो गरे । टियर वान क्यापिटल नै तोकीएको सीमा भन्दा तल अर्थात ८.५ प्रतिशत भन्दा कम भैसकेको अवस्था छ । त्यसका साथै वित्तीय प्रणालीमा त्यसमाथि तरलता छैन । बैंकहरुले पुँजीकोष बढाउनका लागि बोनस सेयर दिनुको विकल्प नभएको बताउँदै ती बैंकरले भने, “बोनस सेयर वितरण गरेर कति व्यवसाय हुन्छ ?”

राष्ट्र बैंकले ठुला बैंकहरुको मर्जर गराउने नीति सफल पार्ने हो भने अहिलेको समस्यालाई अवसरको रुपमा लिन सक्ने बैंकिङ्ग विज्ञ विएन घर्तीले बताए । राष्ट्र बैंकले मर्जरको नीति सफल बनाउने हो भने हकप्रद सेयर जारी गर्ने विषयलाई जोड्दा उपयुक्त हुने उनको भनाई छ । मर्जरमा गएका बैंकलाई हकप्रद जारी गर्न दिने पनि एउटा विकल्प हुन सक्ने बताउँदै घर्तीले भने,“प्राथमिक पुँजी कोष न्यून हुने समस्या पनि यसले हल गर्छ ।” त्यती मात्र नभई बैंकहरुलाइ व्यवसाय विस्तार गर्न तुलनात्मक रुपमा सहज हुने उनको भनाई छ । मर्जर पछि बैंकिङ क्षेत्रका प्लेयर पनि कम हुने भएकाले अहिले जस्तो व्यवसाय विस्तारमा दबाव नहुने उनको बुझाई छ ।

राष्ट्र बैंकको मर्जरको नीति सफल बनाउँदै अर्थतन्त्र चलायमान बनाउन तथा व्यवसायिक गतिविधि कायम राख्न हकप्रदको विकल्प प्रयोग गर्न उपयुक्त हुने देखिन्छ । केन्द्रीय बैंकले मर्जर पछि हकप्रद सेयर जारी गर्न दिने व्यवस्था गरे पुनः एकपटक बाणिज्य बैंकहरुको मर्जरको लहर सुरु हुने निश्चित छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।