पर्वतारोहण सङ्घको साधारण सभा चैत ९ मा हुने

0
Shares

पर्वतारोहीहरुको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को ३१औँ वार्षिक साधारणसभा आगामी चैत ९ गते आयोजना हुने भएको छ ।

कोभिड–१९ महामारीका कारण अघिल्लो वर्ष हुनुपर्ने सङ्घको साधारण सभा तथा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रभावित भएको थियो ।

महामारीको जोखिम कम भएसँगै पर्यटकीय क्षेत्र सबै खुलेकाले अहिले धमाधम पर्यटकीय संस्थाको साधारण सभा तथा अधिवेशन धमाधम हुन लागेको हो ।

यसअघि गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ र घरबास कार्यक्रम ‘होमस्टे’ को साधारणसभा पनि चैतको दोस्रो साताका लागि तय गरिएको छ । नेपाल एशोसिएशन अफ टूर एन्ट ट्राभल एजेन्ट्स् (नाट्टा) को पनि छिट्टै वार्षिक साधारणसभा हुने जनाइएको छ ।

सङ्घका महासचिव कुलबहादुर गुरुङले संस्थाको साधारण सभाको मिति घोषणा गरेर आवश्यक तयारी भइरहेको जानकारी दिए । संस्थाको विधान परिवर्तन गरेर नयाँ कार्यसमिति चयनका लागि निर्वाचन गर्नुपर्ने भएकाले पनि पहिला साधारण सभा गरेर त्यसलगत्तै कार्यसमिति चयनका लागि निर्वाचनको कार्यक्रम अघि बढाइने उनको भनाइ छ ।

“बोर्ड बैठकले यही मार्चभित्रै निर्वाचन गर्ने भनेर छलफल गरियो तर विधानको केही धारा र दफामा समस्या रहेकाले विधान संशोधनका लागि साधारण सभा सकेर जुनको पहिलो सातातिर निर्वाचन गर्नेगरी तयारीमा जुटेका छौ”, उनले भने।

सङ्घको केन्द्रीय समितिको हालैको बैठकले चैत ९ गते साधारण सभा र आगामी २०७९ असार महिनाभित्रमा कार्यसमितिको निर्वाचन गर्ने प्रयोजनार्थ सोही सभामा संस्थाको विधान समेत संशोधन गर्नुपर्ने भएकाले सबै साधारण सदस्यलाई सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।

आसन्न वषन्त ऋतु सर्वाधिक आरोहणका समय भएकाले आरोही आरोहण सकेरफर्केपछि सहज हुने गरी निर्वाचन कार्यक्रम गर्ने सङ्घको योजना छ । संस्थाको सन् २०२० को अगष्टमा वर्तमान कार्यसमितिको कार्यकाल सकिए पनि महामारीका कारण साधारणसभा हुनसकेको थिएन ।

सङ्घको अध्यक्ष, पदाधिकारी र सदस्य गरी २५ सदस्यीय नयाँ कार्यसमिति रहन्छ । उक्त कार्यसमितिको कार्यकाल तीन वर्षको हुन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ फाल्गुन २०७८, बिहिबार  १३ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।