युवा तथा खेलकुद मन्त्री अथकद्धारा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुट्न निर्देशन

0
Shares

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुट्न निर्देशन दिएका छन् ।

बिहिबार मन्त्रालयका सचिव डा. दामोदर रेग्मीसहित पोखरा पुगेका मन्त्री अथकले पोखरा रंगशाला रंगशाला परिसरमा रहेका खेल पुर्वाधारहरुको स्थलगत निरिक्षण गर्दै आगामी जेठभित्रै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नुपर्ने भएकाले आवश्यक तयारी थाल्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन समेत दिएका हुन् ।

मन्त्री अथकले आगामी जेठ दोस्रो साताभित्रै प्रतियोगिता सम्पन्न गर्नेबारे छलफल भईरहेको बताए । मन्त्री अथकले भने“चैत्रमा विद्यालयस्तरीय परिक्षा सञ्चालन हुने तथा बैशाखमा स्थानिय तहको निर्वाचन हुने भएकाले निर्वाचन लगत्तै प्रतियोगिता सञ्चालन गर्ने गरी छलफल भईरहेको छ ।”
उनले रंगशालाको निरिक्षणका क्रममा पौडी र सुटिङ्ग बाहेका सबै खेलहरु रंगशाला हाताभित्रै सञ्चालन गर्न सम्भव देखिएको बताए ।

निर्माणाधिन अवस्थामा रहेको पौडी पोखरी निर्माण सम्पन्न हुन अझैं केही समय लाग्ने बताउँदै मन्त्री अथकले वैकल्पीक उपाय खोजेर भएपनि पौडी सहितका सबै खेलहरु पोखरामै सञ्चालन गरीने बताए । सुटिङ्गका खेलहरु भने काठमाण्डौंमै सञ्चालन गर्ने तयारी गरीएको उनले जानकारी दिए । पोखरामा सबै प्रकारका खेलहरु खेल्न मिल्ने संरचनाहरु तयारी अवस्थामा रहेकाले प्रतियोगिता संचालनकालागि कुनै समस्या नहुने मन्त्री अथकको भनाई थियो ।

यद्यपी प्रतियोगिताका लागि स्थानियस्तरबाटै खेलाडीहरु छनोट भएर आउनुपर्ने भएकाले तत्काल पालिका तथा प्रदेशस्तरका प्रतियोगिताहरु सञ्चालन गर्न मन्त्री अथकले निर्देशन दिएका छन् । कोरोनाका कारण पालिका तथा प्रदेशस्तरका खेल गतिविधिहरु चलायमान हुन नसक्दा समयमै राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न नसकिएको बताउँदै मन्त्री अथकले तत्काल पालिका तथा प्रदेशस्तरका प्रतियोगिताहरु सञ्चालन गर्न निर्देशन दिउका हुन् ।

प्रतियोगिता सञ्चालनका लागि यसअघि नै गण्डकी प्रदेशको राजधानी पोखरालाई चयन गरीएको थियो । पर्यटकीय राजधानी पोखरामा राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्दा त्यहाँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने उल्लेख गर्दै मन्त्री अथकले खेल क्षेत्रलाई पर्यटन उद्योगका रुपमा विकास गर्न आवश्यक रहेको उल्लेख गरे । अनुगमनमा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद (राखेप) का निमित्त सदस्य सचिव कुल बहादुर थापा लगाएत सहभागी थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०७८, शुक्रबार  १७ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।