
मिर्मिरे लघुवित्त वित्तीय संस्था (MMFDB) ले बुद्धज्योति लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । दुई लघुवित्तबीच शुक्रबार काठमाडौंमा एक्वीजिशन सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
प्रारम्भिक समझदारीपत्रमा मिर्मिरे लघुवित्तका तर्फबाट अध्यक्ष टेकबहादुर बोहरा र बुद्धज्योति लघुवित्तका तर्फबाट अध्यक्ष गोविन्द पाण्डेयले हस्ताक्षर गरेका छन् ।
यसअघि दुई कम्पनीहरु स्वेडा र नागबेली लघुवित्तलाई प्राप्ति गरिसकेको मिर्मिरेले बुद्धज्योति लघुवित्तलाई प्राप्ति गरेर आगामी जेठभित्रै एकीकृत कारोबार थाल्ने लक्ष्य राखेको छ ।
कार्यक्रममा मिर्मिरेका सञ्चालकहरू सन्तोष फुँयाल, सञ्जय श्रेष्ठ, प्रवीण भट्टराई र प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी एवं बुद्धज्योतिका सञ्चालकहरू देवबहादुर कुँवर, कुमारी शान्ता आचार्य र प्रमुख कार्यकारी अधिकृत भक्तबहादुर खड्काको उपस्थिति रहेको थियो ।
प्राप्तिपछि संस्थाको नाम मिर्मिरे लघुवित्त वित्तीय संस्था रहने र सञ्चालक समिति अध्यक्ष टेकबहादुर बोहरा एवं प्रमुख कार्यकारी अधिकृतमा पुष्करराज जोशी रहने गरी सम्झौता भएको छ ।
मिर्मिरेको माघसम्ममा ६३ जिल्लामा १४८ शाखा कार्यालयबाट १ लाख ३० हजार सदस्यलाई सेवा प्रदान गर्दै आएको छ । लघुवित्तले माघसम्ममा २ अर्ब ५० करोड रुपैया निक्षेप संकलन गरी ९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
हाल मिर्मिरे लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा र बुद्धज्योति लघुवित्तको केन्द्रीय कार्यालय रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया