बैंकहरुमा निक्षेप नथपिएपछि कर्जा ठप्प, विदेशी मुद्राको कर्जामा निरन्तर गिरावट

0
Shares

वाणिज्य बैंकहरुमा निक्षेप थपिने क्रम सुस्ताएसँगै बैंकहरुले कर्जा लगानीमा नियन्त्रण गर्न थालेका छन् ।

विगतका महिनामा निक्षेप नथपिए पनि कर्जा लगानीलाई निरन्तरता दिँदै आएका बैंकहरुले फागुनको अन्तिम सातामा आएर कर्जा लगानी ठप्पै पारेका छन् । जसले गर्दा फागुनको चौथो सातामा बैंकहरुको कर्जा रकम घटेको छ ।

नेपाल राष्ट्र बैंकले आयातमा कडाई गरेयता बैंकहरुले विदेशी मुद्राको कर्जा नियन्त्रण गर्दा फागुन लागेयता विदेशी मुद्राको कर्जा निरन्तर घटिरहेको छ । फागुनको चौथो साता अर्थात २० गतेदेखि २७ गतेसम्ममा वाणिज्य बैंकहरुमा जम्मा २ अर्ब निक्षेप थपिएको छ भने यसअवधिमा कर्जा एक अर्बले घटेको छ ।

फागुन महिनाको पहिलो साता ३ अर्ब स्वेदशी मुद्राको निक्षेप बढेको बैंकिङ प्रणालीमा दोस्रो सातामा एक अर्ब र तेस्रो साता ११ अर्ब रुपैयाँ स्वेदशी निक्षेप थपिएको थियो। फागुन महिनाको २० गते देखि २७ गतेसम्ममा मात्र एक अर्ब रुपैयाँ स्वेदशी निक्षेप थपिएको हो । साथै यसअवधिमा विदेशी निक्षेप पनि दुई अर्ब थपिएको छ।

तर, सोही अवधिमा विदेशी मुद्राको कर्जा लगानी भने निरन्तर घट्दो क्रममा देखिएको छ । फागुन महिनाको पहिलो सातामा ९ अर्बले घटेको विदेशी मुद्राको कर्जा दोस्रो सातामा पनि ९ अर्ब तथा तेस्रो साता ७ अर्बले घटेको थियो । फागुन महिनाको २० देखि २७ गतेसम्ममा विदेशी मुद्राको कर्जा ५ अर्बले घटेको छ ।

नेपाल राष्ट्र बैंकले विलासीताका बस्तुहरुको आयातमा गरेको कडाईका कारण आयातका लागि बुक गरिएका कर्जाहरु रद्द भएपछि कर्जा घटेको हो । त्यतीमात्र नभई आयातका लागि पनि विदेशी मुद्रा भन्दा पनि स्वदेशी मुद्रामा नै टिआर लोन जारी गर्न थालेकाले पनि विदेशी मुद्राको कर्जा घट्दो क्रममा देखिएको हो ।

चालु आर्थिक वर्षको फागुन महिनामा स्वदेशी र विदेशी मुद्राको कुल निक्षेप १५ अर्ब रुपैयाँ रहेको छ । त्यसैगरी सो अवधिमा १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । चालु आवको फागुन २७ गतेसम्ममा बैंकहरुमा कुल निक्षेप ४३ खर्ब २६ अर्ब रुपैयाँ रहेको छ भने ४१ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।