नेप्से दोहोरो अंकले ओरालो लाग्यो, टेलिकमको उच्च कारोबार

0
Shares

सेयर बजार सूचक नेप्सेमा मंगलबार दोहोरो अंकले गिरावट आएको छ । सोमबार टिएमएसमा आएको प्राविधिक समस्याका कारण स्थीर रहेको नेप्से आज १७.१५ अंकले ऋणात्मक भएको हो । आइतबार भने नेप्से १०१ अंकले बढेको थियो ।

मंगलबार नेप्से घटेर २६५०.९७ बिन्दुमा झरेको छ । नेपाल टेलिकम सहित ठूला बजार पूँजीकरण भएका कम्पनीहरुको भाउ ओरालो लागेसँगै नेप्से दोहोरो अंकले ऋणात्मक बनेको हो । ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स ७.२६ अंकले घटेर ५०२.५९ को बिन्दुमा पुगेको थियो ।

यसदिन ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । कूल २२९ वटा कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता सेयर ४६ हजार २८७ पटक खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

नेप्से घटेसँगै लगानीकर्ताको सम्पत्ति मापक कुल बजार पूँजीकरण घटेर ३७ खर्ब ५८ अर्ब ४७ करोड ९६ लाखमा संकुचित भएको छ । सोमबार ३७ खर्ब ८२ अर्ब ७९ करोड १८ लाख कुल बजार पूँजीकरण रहेकोमा मंगलबार एकैदिन २४ अर्ब ३१ करोड २२ लाख रुपैयाँले घटेको हो ।

गत आवको नाफाबाट २० प्रतिशत बोनस र २० प्रतिशत नगद घोषणा गरेको नेपाल टेलिकमको सेयरमूल्य घटेर उच्च कारोबार भएको छ । बोनसको हल्लामा उचालिएको कम्पनीको भाउ लगानीकर्ताबाट अपेक्षित बोनस प्रस्ताव नभएपछि घटेर कारोबार भएको हो ।

यसदिन टेलिकमको ५.१३ प्रतिशत अर्थात ८८ रुपैयाँ घटेर १ हजार ६२६ रुपैयाँमा झरेको छ । बिहानको सुरुवाती समयमा कारोबार बढाएर १ हजार ७४८ रुपैयाँसम्म अधिकतम मूल्यमा कारोबार भएको सेयर बन्द हुँदा दिनभरकै न्यून मूल्यमा बन्द भएको हो । टेलिकमको ३४ करोड २३ लाख ५७ हजार एक सय ९४ रूपैयाँ बराबरको कारोबार भएको छ ।

स्टकका अनुसार मंगलबार कारोबार भएका कूल १३ उपसमूहमध्ये ४ उपसमूहगत सूचक बढेको छ बाँकी ९ घटेको छ ।होटल सूचक सर्वाधिक ३.१६ प्रतिशतले उकालो लाग्दा निर्जीवन बीमा, जीवन बीमा, र म्युचुअल फण्डको सूचक सामान्य सकारात्मक रहे । उता उत्पादन सर्वाधिक १.६२ प्रतिशतले घट्दा ब्यापार, जलविद्युत र अन्य सूचक पनि १ प्रतिशत बढीले ओरालो लागेको छ ।

आज इमर्जीङ नेपाल लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशत अर्थात ३९ रुपैयाँले बढेर प्रतिकित्ता ४२९.७० रूपैयाँमा कारोबार भएको छ । एभरेष्ट इन्सयोरेन्स संस्थापक ८.९८ प्रतिशत, सगरमाथा इन्स्योरेन्स ६.६४ प्रतिशत, सोल्टी होटलको भाउ ६.५१ प्रतिशत र युनाइटेड इदिमर्दी एण्ड आरबि हाइड्रोपावरको सेयरमूल्य ५.८१ प्रतिशतले बढेको छ ।

आज नेपाल टेलिकमको सेयरमूल्य सर्वाधिक ५.१३ प्रतिशतले घट्दा मैलुङ्ग खोला जलविद्युत ४.८६ प्रतिशत, सिंगटी हाइड्रोपावर ३.८१, माउन्टेन हाइड्रोपावर ३.४५, नारायणी डेभलपमेन्ट बैंक ३.२७, शिवम् सिमेन्टस् ३.२३ र ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य पनि ३.१५ प्रतिशतका दरले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ चैत्र २०७८, मंगलबार  १६ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।