खाद्य पदार्थ, तरकारी, फलफूल तथा माछा/ मासुको मूल्य वृद्धि उच्च, दशैं महङ्गो हु्ने

0
Shares

चालु आर्थिक वर्षको पहिलो महिनामा उपभोक्ता मुद्रास्फीति ६.९५ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षको औसत उपभोक्ता मुद्रास्फीति ४.६ प्रतिशत रहेकोमा चालु आवाको पहिलो महिनामा नै उच्च दरमा वढेको हो ।

२०७५ को साउनमा उपभोक्ता मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । चालु आवको पहिलो महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.१२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

साउन महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, फलफूल, मसला र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । त्यसैगरी, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः घरायसी उपयोगिताका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य वृद्धि उच्च रहेको केन्द्रीय बैंकले जनाएको छ ।

काठमाडौं उपत्यकामा ८.६३ प्रतिशत, तराईमा ६.४६ प्रतिशत, पहाडमा ५.९२ प्रतिशत र हिमालमा ५.५७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ साउनमा यी क्षेत्रहरुमा क्रमशः ३.४९ प्रतिशत, ४.१४ प्रतिशत, ५.२६ प्रतिशत र २.७४ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.९५ प्रतिशत रहेकोमा भारतमा अगष्ट महिनामा यस्तो मुद्रास्फीति ३.२१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा नेपालको मुद्रास्फीति ४.१९ प्रतिशत र भारतको ३.६९ प्रतिशत रहेको थियो ।

२०७६ साउनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.०२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त मुद्रास्फीति ६.४० प्रतिशत रहेको थियो । समीक्षा महिनामा प्राथमिक वस्तु , इन्धन तथा उर्जा र उत्पादित वस्तु समूहको थोक मुद्रास्फीति क्रमशः १३.१० प्रतिशत, ६.५९ प्रतिशत र ३.४५ प्रतिशत रहेको छ ।

पहिलो महिनामा प्राथमिक खाद्य वस्तु, इन्धन, लत्ताकपडा, यातायात उपकरण तथा पार्ट्स उपसमूहको थोक मूल्य वृद्धि उच्च रहेको छ । वृहत आर्थिक वर्गीकरणको आधारमा हेर्दा, समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ११.८३ प्रतिशत, ५.११ प्रतिशत र २.२० प्रतिशत रहेको छ ।

२०७६ साउनमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १३.४४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.४ प्रतिशतले बढेको थियो । चालु आवको पहिलो महिनामा तलब सूचकाङ्क १२.४१ प्रतिशत र ज्यालादर सूचकाङ्क १३.७२ प्रतिशतले बढेको छ ।