अपि पावरले तोक्यो हकप्रदको बुकक्लोज

0
Shares

अपि पावर कम्पनी लिमिटेड (API) ले हकप्रद निष्काशन गर्नका लागि चैत्र १४ गते सोमबार सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने भएको छ । 

कम्पनीको चैत्र ४ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासन गर्ने प्रयोजनका उक्त एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको हो ।

बुकक्लोज अनुसार चैत्र १३ गते आइतबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर कारोबार भई सेयरधनी कायम लगानीकर्ताहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

अपिले १ः०.३९३६ को अनुपातमा १०० रूपैयाँ अंकित दरमा १ अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद सेयर निष्कासन गर्न कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट फागुन २६ गते अनुमति पाएको थियो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले ४० मेगावाट क्षमताको तेस्रो जलविद्युत आयोजना माथिल्लो चमेलिया निर्माणमा लगानी गर्नका लागि सेयरधनीहरुबाट पूँजी जुटाउन हकप्रद जारी गर्न लागेकाे हो । जलविद्युत सम्बन्धी व्यवसाय गरिरहेको यस कम्पनीको हालको अधिकृत पूँजी ५ अर्ब, जारी पूँजी ४ अर्ब र चुक्ता पूँजी २ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ छ ।

दार्चुलामा अपि हिमाल र मार्मा गाउँपालिका भई वहने चमेलिया नदीको पानी उपयोग गरी ४० मेगावाट क्षमताको उर्जा उत्पादन गर्ने कम्पनीले जनाएको छ । यसको बिजुली १६ किलोमिटर लामो १३२ केभी ट्रान्समिसन लाइनमार्फत प्राधिकरणको वलाँच सवस्टेशनमा ल्याई राष्ट्रिय ग्रिडमा जोडिनेछ । यस आयोजनाबाट वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत मध्ये ३० प्रतिशत हिउँदका ६ महिनामा र बाँकी ७० प्रतिशत वर्षाका ६ महिनामा उत्पादन हुने कम्पनीले जनाएको छ ।

यस आयोजनाको विद्युत बिक्रीबाट प्रथम वर्ष १ अर्ब ६२ करोड आय आर्जन हुनेछ। यस आयमा ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले वृद्धि हुँदै जाने कम्पनीको प्रक्षेपण छ ।  यस आयोजना निर्माणका लागि जम्मा ७ अर्ब ४० करोड लगानी लाग्ने अनुमान गरिएको छ ।

कम्पनीले कुल लागत मध्ये ३० प्रतिशतले हुने रकम २ अर्ब २२ करोड आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गरेर संकलन गरेर लगानी गर्ने योजना लिइएको छ । बाँकी ७० प्रतिशतले हुने रकम ५ अर्ब १८ करोड हिमालयन बैंक लिमिटेडको अगुवाईमा क्रमशः कर्मचारी संचय कोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, नेपाल बङ्गलादेश बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक सहभागितामा वित्तीय व्यवस्थापन सम्झौता भएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ चैत्र २०७८, शुक्रबार  १४ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।