प्रधानमन्त्रीद्धारा २२० केभी नयाँ खिम्ती सबस्टेसनको उद्घाटन

0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको मन्थली नगरपालिका वडा नं. १३ स्थित साँखे (फुलासी) मा निर्माण सम्पन्न भएको नयाँ खिम्ती २२०/१३२ के.भी. सवस्टेशन शनिबार उद्घाटन गरेका छन् ।

सबस्टेसन स्वदेशी पूँजीमा निर्माण भएको मुलुककै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको एउटा मुख्य भाग हो । माथिल्लो तामाकोशी आयोजनाले नै निर्र्माण गरेको सबस्टेसन नेपालमा हालसम्म निर्माण र सञ्चालनमा रहेको ढल्केबरपछिको दोस्रो ठूलो सवस्टेशन हो ।

तामाकोशी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादित विद्युत जोडिने नयाँ खिम्ती सबस्टेसनबाट करिब १ हजार २०० मेगावाटसम्म विद्युत प्रवाह गर्न सकिने छ ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत ४७ किलो मिटर लामो २२० के. भी. डबल सर्किट प्रसारण लाइनबाट नयाँ खिम्ती सवस्टेसन जोडिएको छ । माथिल्लो तामाकोशीको अतिरिक्त ६० मेगावाट क्षमताको खिम्ती पहिलो, ५२.४ मेगावाट क्षमताको लिखू चौथों र २४.२ मेगावाट क्षमताको लिखू खोला ’ए’ बाट उत्पादित विद्युत यही सबस्टेसनमा जोडिएको छ ।

त्यस्तै, नयाँ खिम्ती सवस्टेसनमा जोडिएको विद्युत ७६ किलोमिटर २२० केभी प्रसारण लाइनबाट धनुषाको ढल्केवरस्थित ४००÷२२०÷१३२ केभी सबस्टेसनमा लगिएको छ । ढल्केबरबाट मुलुकभित्र खपतका लागि पूर्व–पश्चिम पठाइएको छ भने बढी भएको विद्युत ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन मार्फत भारततर्फ निर्यात गरिएको छ ।

नयाँ खिम्ती सबस्टेसनबाट ४६ कि.मि. लामो १३२ केभी प्रसारण लाइनबाट सिन्धुपाल्चोकको लामोसाँघूस्थित १३२ के.भी. सवस्टेसन हुँदै काठमाडौं उपत्यकासहित नेपालको राष्ट्रिय विद्युत प्रणालीमा विद्युत प्रवाह भइरहेको छ ।

नयाँ खिम्ति सवस्टेसनमा आठवटा २२० केभी ग्याँस इन्सुलेटेट स्वीचगियर बे र ६ वटा १३२ केभी एयर इन्सुलेटेट स्वीचगियर बे रहेका छन् । साथै, सबस्टेसनमा २२०/१३२ के.भी., ३३.३३ एमभीए क्षमताको चारवटा पावर ट्रान्सफरमरहरु जडान गरिएको छ । करिब १३७ रोपनी क्षेत्रफल रहने सबस्टेसनमा हाल करिब ५५ रोपनीमा २२०/१३२ केभी नयाँ खिम्ती सवस्टेसन निर्माण भएको छ ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले अनेकौं कठिनाइ बेहोर्दै माथिल्लो तामाकोसीको निर्माण सम्पन्न भएको र यसबाट जलविद्युत र समग्र आर्थिक क्षेत्रको विकासमा एक ऐतिहासिक उपलब्धी प्राप्त भएको बताए ।

घिसिङले यस आयोजनाको सफलताबाट भविष्यमा यस्तै ठूला आयोजनाहरू स्वदेशी लगानी र व्यवस्थापनमा निर्माण गर्ने सकिने अनुभव, आँट, र दक्षता प्राप्त भएको उल्लेख गरे । दैनिक पिकिङ प्रकारको माथिल्लो तामाकोशीले सुक्खा मौसममा पनि दैनिक कम्तीमा ४ घण्टासम्म पूर्ण क्षमतामा अर्थात् ४५६ मेगावाट विद्युत उत्पादन गरी नेपालको राष्ट्रिय विद्युत प्रसारण प्रणालीलाई ठूलो मद्दत पुर्‍याइरहको छ ।

वार्षिक २ अर्ब २८ करोड युनिट विद्युत उत्पादन हुने आयोजनाले दोश्रो चरणमा २० मेगावाटको रोल्वालिङ खोला निर्माण गर्दै छ । रोल्वालिङ खोलालाई माथिल्लो तामाकोसीमा मिसाएर सुख्खायाममा करिब २२ करोड युनिट र २० मेगावाटको आयोजनाबाट थप १० करोड गरी जम्मा ३२ करोड युनिट विद्युत ऊर्जा थप हुनेछ ।

उपभोक्तालाई सस्तो बिजुली उपलब्ध गर्ने उद्देश्यसहित निर्माण भएको माथिल्लो तामाकोसीको प्रति युनिट औसत ४.०६ रुपैयाँ विद्युत खरीद बिक्रीदर रहेको छ । यसबाट आम उपभोक्ताले सस्तो दरको बिजुली पाउने प्रत्याभूति हुनुको साथै प्राधिकरणको वित्तीय अवस्थामा समेत उल्लेख्य सुधारको अपेक्षा गरिएको छ ।

माथिल्लो तामाकोसीको सञ्चालनपछि हाल बिहान र साँझको पिक आवरको समयमा भारतबाट आयात गरिने विद्युतको परिमाणमा करिब आधाभन्दा बढी घटेको घिसिङले उल्लेख गरे ।

उनले भने, ‘पिक आवरको समयमा भारतबाट आयात गरिने विद्युतको खरिद दर यस हिउँदमा नेपाली रूपैयाँ ३२ प्रतियुनिटसम्म पुगेको अवस्थामा तामाकोशीको विद्युत खरिद दर यो वर्ष अधिकतम नेपाली रूपैयाँ ६.९६ मात्र रहेकोले देशको ठूलो धनराशी विदेश जानबाट रोकिएको छ ।’

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ चैत्र २०७८, शनिबार  १६ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।