आठ महिनामा ११ खर्ब बढीको वैदेशिक व्यापार घाटा

0
Shares

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मुलुकको वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब ४८ करोड रुपैयाँ बराबरको पुगेको छ । गत आवको पहिलो आठ महिनामा १० खर्ब २४ अर्ब ७६ करोड रुपैयाँ रहेको वैदेशिक व्यापार चालु आवमा ४२.१३ प्रतिशतले बढेको हो ।

वैदेशिक व्यापारमा वृद्धि भए पनि आयातमुखी व्यापारका कारण मुलुकको व्यापार घाटा चुलिँदो छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार मुलुकको व्यापार घाटा अघिल्लो आवको पहिलो ८ महिनाको तुलनामा चालु आवमा ३४.५० प्रतिशतले बढेर ११ खर्ब ६० अर्ब रुपैयाँभन्दा धेरै पुगेको छ । गत आवको फागुन मसान्तसम्म यस्तो घाटा ८ खर्ब ६३ अर्ब रुपैयाँ माथि थियो ।

विभागका अनुसार गत आवको पहिलो ८ महिनाका आधारमा मुलुकमा आयात ३८.६४ प्रतिशतले बढेको छ । गत आवको फागुन मसान्तसम्ममा ९ खर्ब ४३ अर्ब रुपैयाँ मूल्य बराबरको आयात भएकामा चालु आवको समीक्षा अवधिसम्म आयात १३ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ ।

त्यस्तै २०७७/७८ को पहिलो ८ महिनाका तुलनामा चालु आवको निर्यात ८२.९० प्रतिशतले बढेको छ । गत आवको फागुन मसान्तसम्म ८० अर्ब ७७ करोड रुपैयाँ बराबरको निर्यात भएकामा चालु आवको समीक्षा अवधिमा एक खर्ब ४७ अर्ब रुपैयाँ बढीको निर्यात भएको छ ।

सार्वजनिक विवरण अनुसार गत आवको पहिलो आठ महिनासम्म कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२.१२ प्रतिशत रहेकामा यस्तो हिस्सा २.४५ प्रतिशतले घटेर चालु आवमा ८९.८६ प्रतिशतमा आएको छ । त्यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा २८.६९ प्रतिशतले बढेको छ । गत आवको फागुन मसान्तसम्म वैदेशिक व्यापारमा निर्यातको हिस्सा ७.८८ प्रतिशत रहेकामा चालु आवमा १०.१४ प्रतिशत पुगेको छ ।

चालु आवको ८ महिनाका अवधिमा नेपालको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयात धेरै छ । यस आवको फागुन महिनासम्म मुलुकमा ८७ अर्ब ८३ करोड रुपैयाँ मूल्यभन्दा धेरैको डिजेल भित्रिएको छ । त्यस्तै एलपी ग्यास ४० अर्ब ६४ करोड बराबरको तथा पेट्रोल ३९ अर्ब ८५ करोड रुपैयाँ बढीको भित्रिएको विभागले जनाएको छ ।

त्यस्तै नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ । विभागको तथ्याङ्कअनुसार स्वदेशबाट रु ४१ अर्ब ४० करोड मूल्यभन्दा बढीकोे भटमासको तेल निर्यात भएको छ । व्यवसायीले भटमासको कच्चा पदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर निर्यात गर्ने गरेकाले यहाँको वैदेशिक व्यापारमा भटमासको तेलको योगदान देखिन्छ । जसले मुलुकको वैदेशिक व्यापारमा निर्यातको हिस्सा बढाएको छ ।

त्यस्तै प्रकृतिको निर्यात हुने वस्तुमध्ये पाम तेल पनि एक हो । भटमासको तेल जस्तै पाम तेल पनि कच्चा पदार्थ आयात गरी प्रसोधन पश्चात निर्यात हुने गरेको छ । सार्वजनिक विवरणअनुसार चालु आवको पहिलो ८ महिनासम्म ३५ अर्ब ३३ करोड रुपैयाँ मूल्य बराबरको पाम तेल निर्यात भएको छ ।

त्यसैगरी ९ अर्ब ४९ करोड रुपैयाँ बराबरको गलैंँचा तथा टेक्सटायल, ५ अर्ब ८९ करोड रुपैयाँ मूल्य बराबरका जुटका बुनिएका तथा अन्य कपडा निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

भारतबाट मात्रै झन्डै आठ खर्ब बढीको आयात

सार्वजनिक तथ्याङ्क अनुसार चालु आवको फागुनसम्म नेपालले भारतबाट करिब  ७ खर्ब ९७ अर्ब रुपैयाँ मूल्य बराबरका वस्तु आयात भएको देखिन्छ भने १ खर्ब १८ अर्ब रुपैयाँ मूल्य बरोबरका वस्तु निर्यात भएको छ । जसअनुसार नेपालको व्यापार घाटा भारतसँग मात्रै ६ खर्ब ७८ अर्बभन्दा धेरै छ । त्यस्तै नेपालले चीनबाट १ खर्ब ८६ अर्ब मूल्य बराबरका बस्तु आयात गरेकामा ५४ करोड ५८ लाख रुपैयाँ मूल्य बराबरको वस्तु निर्यात गरेको देखिन्छ ।

विभागको विवरणअनुसार चालु आवको ८ महिनामा सबैभन्दा धेरै वीरगञ्ज नाकाबाट ४ खर्ब ६३ अर्ब रुपैयाँ बढी मूल्य बराबरको वस्तु आयात भएको छ । त्यस्तै भैरहवा नाकाबाट २ खर्ब ६ अर्ब रुपैयाँ र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नाकाबाट १ खर्ब ५७ अर्ब रुपैयाँ बढी मूल्य बराबरका वस्तु आयात भएको तथ्याङ्क छ । नेपालले वीरगञ्ज भन्सारबाट ६६ अर्ब ३६ करोड रुपैयाँ, विराटनगर भन्सारबाट ४१ अर्ब ७७ करोड रुपैयाँ तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नाकाबाट २१ अर्ब २७ करोड रुपैयाँ बढी मूल्य बराबरका वस्तु विदेश निर्यात गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।