बीमा कम्पनीहरुको चुक्ता पूँजी बृद्धि गर्नेे निर्णय, ३० दिनभित्र पूँजीवृद्धि योजना बुझाउनै पर्ने

0
Shares

बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी बृद्धि गरेको छ । समितिको संचालक समितिको आज बसेको बैठकले बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी २.५ अर्ब पुर्याएको छ ।

बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी समग्रमा नेटवर्थ बढाई सो अनुरुप कम्पनीहरुको जोखिम वहन क्षमता बढाउन, कम्पनीहरुलाई एकअर्कामा गाभ्ने गाभिने अनुकुल वातावरण सिर्जना भई उपयुक्त संख्यामा राख्न तथा पूँजिगत आधार बलियो बनाउन सहयोग पुग्ने समितिको भनाई छ ।

यस्तै, ठूलो पूँजी भएमा सेवाको लागत कम भई बीमाको पहूँच विस्तार गर्न, ठूलो पूँजी कायम गरी कम्पनीहरुबीच स्वस्थ्य प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पूँजीसँग सामञ्जस्यता हुनेगरी चूक्ता पूँजी कायम गर्न पूँजी वृद्धिको निर्णय गरिएको समितिले जनाएको छ ।

उपरोक्तानुसारको चुक्ता पूँजी २०७९ साल चैत्र मसान्तसम्ममा कायम गरिसक्नुपर्ने र निर्धारित पूँजी उपरोक्त समयावधिभित्र पु¥याउन नसक्ने कम्पनीहरुले “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” बमोजिम हुनेगरी पूँजी कायम गर्नुपर्ने समितिको निर्देशन छ ।

यसैगरी, विदेशी बीमकको रुपमा दर्ता भई संचालनमा रहेको बीमकले बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ को दफा ४ बमोजिमको तोकिएको न्यूनतम चूक्ता पूँजी बराबरको निर्धारित पूँजी कायम गर्ने र संयुक्त लगानीमा संचालित कम्पनीले तोकिएको समयावधिभित्र उल्लिखित निर्देशिकाको दफा ४ बमोजिमको तोकिएको न्यूनतम चूक्ता पूँजी कायम गर्ने व्यवस्था गरेको छ ।

कम्पनीहरुले तीस दिनभित्र आफ्नो पूँजी योजनासम्बन्धित बोर्डबाट निर्णय गराई समिति समक्ष पेश गर्नुपर्ने व्यवस्था समेत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।