रिडी हाइड्रोले ६५ करोड लागतमा सोलार विद्युत् आयोजना बनाउने

0
Shares

रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले रुपन्देहीमा बुटवल सौर्य आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले यसका लागि तीनवटा बैंकसँग संयुक्त रुपमा ऋण लिनको लागि सम्झौता गरेको छ।

सोलार आयोजना निर्माण गर्न ६५ करोड ४६ लाख लाग्ने अनुमान छ । यसमध्ये ४९ करोड बैंक ऋण र १६.४६ कम्पनीको स्वःलगानी रहनेछ। यस आयोजना निर्माण गर्न भारतस्थित जि.ई. टि. एण्ड. डि. इण्डिया लिमिटेडसँग सम्झौता भएको कम्पनीले जनाएको छ।

आयोजनाको वित्त व्यवस्थापन गर्न कम्पनीले मंगलबार बैंक अफ काठमाडौंको अगुवाइमा सिटीजन बैंक इन्टरनेशनल लि. तथा नेपाल बंगलादेश बैंक लिमिटेडसँग सहवित्तीयकरण सम्झौता सम्पन्न गरेको छ।

कम्पनीले सोलार आयोजना निर्माणका तिलोत्तमा न. पा. वडा नं. ७ मा २६ बिघा जग्गा भाडामा लिएको छ । सो जग्गामा करिब ३२ हजार सोलार प्यानल जडान हुनेछन्। उक्त सौर्य फर्मबाट उत्पादन भएको विद्युत ३३ केभी प्रसारणलाइनमार्पmत सिधै राष्ट्रिय ग्रीडमा जोडिने अध्यक्ष गुरुप्रसाद न्यौपानेले जानकारी दिए।

यो आयोजना आ.व.२०७६/७७ को साउन निर्माण सुरु भई २०७६ चैैत महिनाभित्र सम्पन्न गरिने न्यौपानेले दाबी गरे। प्रस्तावित बुटवल सौर्य आयोजनाबाट वार्षिक १ करोड ४५ लाख १० हजार ५ सय ८४ किलोवाट घण्टा विद्युत उत्पादन हुने र त्यसबाट १० करोड ५९ लाख आम्दानी हुने अनुमान छ ।

विद्युत खरिदबिक्री सम्झौताअनुसार विद्युत बिक्री मूल्य ७ रुपैयाँ ३० पैसा प्रतियुनिट तोकिएको छ। यस आयोजना निर्माणवाट कम्पनीको आम्दानीमा वृद्धि भई सेयरधनीहरुलाई थप लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ।

यो आयोजना निर्माण गर्नका लागि कम्पनीको सत्रौं वार्षिक साधारणसभाले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने एजेण्डा पारित गरेको छ।