बालुवाटार क्षेत्रको ढल तथा बर्षातको पानी व्यवस्थापन गर्न साढे १० करोड खर्च गरिँदै

0
Shares

खानेपानीमन्त्री उमाकान्त चौधरीले बालुवाटार ढल तथा वर्षात्को पानी व्यवस्थापन कार्यको आज बालुवाटारमा शिलान्यास गरेका छन ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गतको काठमाडौं उपत्यका फोहोरपानी व्यवस्थापन आयोजनाबाट काठमाडौं महानगरपालिका वडा नं. २, ३ र ४ भित्र पर्ने प्रधानमन्त्री निवास सहित बालुवाटार क्षेत्रमा ढल तथा वर्षात्को पानी व्यवस्थापनको कार्य शुरू भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री उमाकान्त चौधरीले दशकौंदेखि बालुवाटार क्षेत्र वर्षाका बेला जलमग्न हुने र ढलको समेत उचित निकास नहुँदा समस्या पर्ने गरेकाले यस क्षेत्रमा ढल तथा वर्षात्को पानी व्यवस्थापनको कार्य शुरू गरिएका बताए ।

मन्त्री चौधरीले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्र र बाहिर पनि वर्षाका बेला जलमग्न हुने समस्या रहेको उल्लेख गर्दै त्यहाँ पनि सिंहदरबार गुरूयोजनालाई प्रभाव नपर्ने गरी ढल व्यवस्थापन गर्नका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको जानकारी दिए ।

उनले ढल तथा वर्षाको पानी व्यवस्थापनको कार्य गुणस्तरीयरूपमा तोकिएकै समयमा सम्पन्न गर्न समेत निर्देशन दिए । मन्त्री चौधरीले फोहोर व्यवस्थापन, फोहोरपानीको प्रशोधन र ढल व्यवस्थापन लगायतका कार्य गरी काठमाडौं उपत्यकालाई स्वच्छ, सफा र हराभरा बनाउन सम्बद्ध सरकारी निकायहरू प्रयासरत रहेको बताए ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले वर्षाका बेला पानी जम्ने, वस्ती डुवानमा पर्ने र ढल फुट्ने जस्ता समस्याबाट दशकौंदेखि काठमाडौं उपत्यकाबासी प्रभावित हुँदै आएको उल्लेख गर्नुहुँदै बैज्ञानिक किसिमले ढल तथा वर्षात्को पानी व्यवस्थापन कार्यलाई तीब्रता दिन सम्बद्ध निकायहरूलाई निर्देशन दिए ।

आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटाले बालुवाटार ढल तथा वर्षात्को पानी व्यवस्थापनको कार्य कूल १० करोड ५३ लाखको लागतमा आगामी १५ महिनाभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको जानकारी दिए । यस कार्यबाट बालुवाटार क्षेत्रमा रहेका प्रधानमन्त्री निवास, नेपाल राष्ट्र बैंक लगायत अन्य सरकारी निकाय र त्यस क्षेत्रका करिव ९ हजार २४६ जनसंख्या लाभान्वित हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।