बक्यौता रकम नबुझाउने तीन क्यासिनो बन्द गराउन पत्राचार

0
Shares

पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनो बन्द गराउन पत्राचार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती क्यासिनोलाई बक्यौता रकम बुझाउन पाँच दिनको समयसीमा दिएका थिए ।

बक्यौता रकम बुझाउन दिइएको म्याद अवधिसम्म पनि ती क्यासिनोले सरकारलाई तीर्नुपर्ने बक्यौता रकम नबुझाएका कारण पर्यटन विभागले सूचना प्रकासित गरी क्यासिनो बन्द गराउन गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालय नक्साललाई पत्राचार गरेको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताए ।

उनले भने, “सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम बुझाउन हामीले तीन क्यासिनो कम्पनीलाई पाँच दिनको समय दिएका थियौं, उहाँहरूले बक्यौता नबुझाएकाले बन्द गराउनका लागि पत्राचार गरेका हौं ।”

पर्यटन विभागले दिएको जानकारी अनुसार रक इन्टरनेशनल प्रालि काठमाण्डौंको ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाण्डौंको ३० करोड १७ लाख र ओरियन्टल होटल्स ९¥याडिसन होटल० लाजिम्पाटको नाममा ३० करोड सरकारलाई क्यासिनो सञ्चालन बापत तिर्नुपर्ने बक्यौता बाँकी छ ।

पटक-पटक बक्यौता रकम बुझाउन क्यासिनो कम्पनीलाई पत्रचार गरिए पनि नबुझाएकाले क्यासिनो नियमावली, २०७० को नियम १४ बमोजिम ती कम्पनीका इजाजतपत्र/अनुमतिपत्र रद्ध गरिएको विभागले जनाएको छ ।

आर्थिक वर्ष २०७६/०७७ सम्मको नियमित रोयल्टी र नवीकरण ९० करोड ५५ लाख ७६ हजार उठाउन बाँकी रहेको छ । हालसम्म १७ वटा कम्पनीले रोयल्टी बुझाई सरकारको खातामा ८७ करोड राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।