सूर्यतारा सिमेन्ट परियोजनाका लागि १४ अर्ब २७ करोड लगानी स्वीकृत

0
Shares

लगानी बोर्डको ५० औं बैठकले सूर्यतारा सिमेन्ट परियोजना निर्माण, सञ्चालन एवं व्यवस्थापनका लागि १४ अर्ब २७ करोड ५० लाख बराबरको लगानी स्वीकृत गरेको छ।

साथै नवलपरासीको बर्दघाटमा रासायनिक मल कारखाना स्थापना गर्न समझदारी गरी विस्तृत सम्भाव्यता अध्ययनका लागि डीआईएजी इन्डष्ट्रिज जीएमबीएच जर्मनीलाई अनुमती पत्र दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसको बोर्ड बैठकले उक्त निर्णय गरेको हो।

बैठकले तल्लो अरुण जलविद्युत परियोजना ( ६६९मेवा ) का सम्बन्धमा प्रस्तावक कम्पनीले पेश गरेको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरेको छ ।  साथै माथिल्लो कर्णाली जलविद्युत परियोजनाको वित्तीय व्यवस्थापनको म्याद थप सम्बन्धी विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न राष्ट्रिय योजना आयोगको उपाध्यक्षको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदनको आधारमा विकासकर्तासँग वार्ता गरी समझदारीको निमित्त बोर्ड बैठकमा पेश गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।

बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको विकास तथा लगानीको ढाँचा र अरुण ३ जलविद्युत परियोजनाबाट प्राप्त हुने निस्शुल्क ऊर्जा विक्री तथा सो बाहेकको अतिरिक्त उर्जा खरिद गर्ने विषयमा विस्तृत अध्ययन गरी वोर्डसमक्ष प्रतिवेदन पेश गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा दुई छुट्टा-छुट्टै अध्ययन समिति गठन गरेको छ ।

बैठकले लगानी बोर्ड कोष स्थापना सम्बन्धी तथा सार्वजनिक निजी साझेदारी अवधारणाको मोडलको अवधारणापत्र स्वीकृत गरी सो सम्बन्धी आवश्यक कानूनी तथा संस्थागत व्यवस्थाका लागि लगानी बोर्डको कार्यालय तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

लगानी बोर्डको कार्यालयको संस्थागत सुधारका लागि बोर्डले इन्टर्न भर्ना सञ्चालन एवम नियमन सम्बन्धी मापदण्ड स्वीकृत गरेको र विशेषज्ञ समिति वा कार्यदल गठन तथा विशेषज्ञ नियुक्ति र पारिश्रमिक एवं सुविधा सम्बन्धी मापदण्ड अर्थ मन्त्रालयको राय सहमति समावेश गर्ने गरी स्वीकृत गरेको छ ।

बैठकमा सम्माननीय प्रधानमन्त्री देउवाले बढ्दो व्यापार घाटा, घट्दो विप्रेषण तथा कसिलो तरलताको समस्याबाट उन्मुक्ति पाउन गुणस्तरीय लगानी भित्र्याउनु पर्नेमा जोड दिए । उनले राष्ट्रको आर्थिक समृद्धिको जग निर्माण गर्न ज्ञान, सीप, पूँजी र प्रविधिको अहम् भूमिका रहने भएकाले पूँजी र प्रविधि भित्र्याउन लगानी बोर्डको कार्यालयलाई विशेष पहल गर्न निर्देशन दिए । हालसम्म बोर्डले गरेका प्रयासको सह्राना गर्दै लगानी बोर्डले गरेका निर्णयहरु शीघ्रताका साथ कार्यान्वयन गर्न सबै मन्त्रालय/निकायलाई निर्देशन दिए ।

बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अघिल्लो बोर्ड बैठकले गरेका निर्णयहरुको कार्यान्वयन अवस्था, परियोजना कार्यान्वयन, सहजीकरण तथा विकास एवं संस्थागत सुधारका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका गतिविधिहरुको बारेमा जानकारी गराएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।