नेपाल वेयरहाउजिङ कम्पनीले सुनसरीमा खाद्यान्न भण्डारण गृहको व्यवसायिक सुरुवात गरेको छ । कम्पनीले पर्सा र कपिलवस्तुमा निर्माण भईरहेको भण्डारण गृहहरु पनि छिट्टै सञ्चालनमा ल्याउने जनाएको छ ।
यो कम्पनी संस्थापन गर्नका उद्देश्यहरु मध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु हो । साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औधोगिक प्रतिष्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरुलाई घर खर्च तथा अर्को वालीका लागि आवश्यक पर्ने पूँजीको अभाव हुन नदिन निजहरुले कम्पनीको भण्डारण गृहमा राखेका खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा वैंक तथा वित्तीय संस्थाहरु मार्फत ऋण प्राप्त गर्ने उचित व्यवस्थापन गरेको कम्पनीले जनाएको छ ।
यस कम्पनीले संचालन गर्न लागेको र निर्माण भईरहेका परियोजनाहरुको लागत १३९ करोड रुपैयाँ रहेको छ । सो मध्ये ९४ करोड ऋण र बाँकी स्व पूँजी परिचालन गरिने कम्पनीले जनाउको छ । ऋणको व्यवस्थापन एभरेस्ट बैंक को अगुवाइमा नेपाल एसविआइ बैंक, हिमालयन बैंक, बैंक अफ काठमाडौँ, कृषि विकास बैंकको सहवीत्तीयकरणमा गरिएको छ ।
कम्पनीमा निम्बस समूह, शिखर ईन्स्योरेन्स, प्रोबियोटक ईन्डस्ट्रिज, श्रीनगर एग्रो फार्म, एनएमवि बैंक, टिम भेन्चर्स, टिएनआई इन्भेस्टले लगानी गरेका छन् । पछिल्लो चरणमा नेपाल इन्फ्राष्ट्रक्चर वैंक, मुक्तिनाथ कृषि कम्पनी, हिमालयन क्यापिटल, आइएमई जनरल इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट, अल्फा क्यापिटल, आध्यानता फन्ड म्यानेजमेन्ट समेतले पूँजी लगानी गरेका छन् ।
यी लगानीकर्ता बाट कम्पनीमा कूल चालु पूँजी ६८.७५ करोडको ८० प्रतिशतले हुन आउने ५५ करोड रुपैयाँको शेयर लगानी भइसकेको छ । कम्पनीले आगामी आर्थिक वर्ष २०७९/८० मा सार्वजनिक निष्काशनबाट कूल जारी पूँजीको २० प्रतिशत बराबरको रकम १३.७५ करोड रुपैयाँ पुँजीकरण गर्ने कम्पनीले जनाएको छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया