ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महीनापछि उडान शुरु

0
Shares

हिमाली जिल्ला ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा तीन महीनापछि उडान शुरु भएको छ । असार ४ गते यता उडान नभएको विमानस्थलमा बिहीबारदेखि उडान शुरु भएको हो ।

यसअघि मौसम खराबीका कारण उडान नभएको विमानस्थलमा मौसममा सुधारसँगै उडान शुरु भए पनि यात्रु अभावमा जहाज रित्तै फर्किएको छ । 

काठमाडौँबाट नौ जना यात्रु लिएर आएको नेपाल वायुसेवा निगमको जहाज सुकेटारबाट यात्रु नपाएपछि रित्तै फर्किएको हो । यसअघि असार ४ गते पनि जहाज ताप्लेजुङबाट रित्तै फर्किएको थियो ।

लामो समयसम्म उडान गर्न नसकेकाले यात्रु नपाएको स्थानीयको भनाइ छ । कहिले जहाज बिग्रिएर, कहिले मौसम खराबी लगायतका कारण नियमित उडान हुन नसक्दा काठमाडौँ–ताप्लेजुङ उडान भरपर्दोसमेत हुन नसकेको स्थानीयले बताए ।

सुकेटार विमानस्थलमा नेपाल वायुसेवा निगमको विमानले साताको सोमबार, बुधबार र शनिबार ताप्लेजुङ–काठमाडौँ उडान गर्ने नियमित कार्यतालिका छ । नियमित उडान भने हुन सकिरहेको छैन । ताप्लेजुङ स्टेशन इन्चार्ज राजु कार्कीका अनुसार काठमाडौँबाट ताप्लेजुङका लागि धेरैले अग्रिम टिकट लिएका छन् ।
तर ताप्लेजुङबाट काठमाडौँका फाट्टफुट्ट मात्रै यात्रु आउछन् । उडान शुरु भएपछि भने यात्रु अभाव नहुनेमा आफू विश्वस्त रहेको कार्कीले बताए । मौसम र जहाजमा समस्या नआए नियमित उडान हुने उनको भनाइ छ ।