रसिया-युक्रेन युद्धको प्रभाव: पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, नयाँ भाउ कति ?

0
Shares

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । निगमको चैत २२ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले राति १२ बजेबाट लागु हुने गरी पेट्रोलियम पदार्थको भाउ लिटरमा ५ रुपैयाँ बढाएको हो । यस्तै ग्याँसको भाउ पनि प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको छ ।

रसिया र युक्रेन बीचजारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपालमा पनि मूल्य बढेको निगमले जनाएको छ । यससँगै काठमाडौं लगायत सम्पूर्ण डिपो तथा बिक्री बिन्दुबाट १५ किलोमिटर क्षेत्रभित्र पेट्रोलको नयाँ खुद्रा मूल्य प्रतिलिटर १६० रुपैयाँ  पुगेको छ । यस्तै डिजेल–मट्टितेलको नयाँ खुद्रा बिक्रीमूल्य प्रतिलिटर १४३ रुपैयाँ कायम गरिएको छ ।

यस्तै हवाई इन्धन (आन्तरिक) मा ५ रुपैयाँले बढेर प्रतिलिटर १५६ रुपैयाँ कायम भएको छ । यस्तै हवाई इन्धन (अन्तर्राष्ट्रिय) अमेरिकी डलर ५० ले वृद्धि भइ प्रतिकिलोलिटर १ हजार ५४५ अमेरिकी डलर कायम गरिएको छ ।

यस्तै आज १२ बजेबाट लागू हुनेगरी खाना पकाउने ग्याँसको मूल्य पनि बढेको छ । भाउ बढेपछि एलपी ग्याँस प्रतिसिलिन्डर १ हजार ६०० रुपैयाँ पुगेको छ । यसअघि खाना पकाउन प्रयोग गरिने एल.पी ग्यास मूल्य प्रतिसिलिन्डर १ हजार ५७५ रुपैयाँमा बिक्री हुँदै आइरहेको थियो ।

उक्त मूल्य समायोजन पश्चात पनि निगमको एक महिनाको अनुमानित घाटा ९ अर्ब २७ करोड रुपैयाँ रहने छ । चालु आवको हालसम्ममा निगमको नोक्सानी करिब ३३ अर्ब रुपैयाँ पुगेको निगमले जनाएको छ ।

भाउ वृद्धिपछि पनि निगमलाई पेट्रोलमा २२.९८ रुपैयाँ, डिजलमा २८ रुपैयाँ, ग्याँसमा प्रतिसिलिन्डर ९३२.३८ रुपैयाँ घाटा छ भने मट्टितेलमा प्रतिलिटर ६.६९ रुपैयाँ, हवाई इन्धन आन्तरिकमा १७.१५ रुपैयाँ र हवाई इन्धन बाह्यमा भने ६७.६५ रुपैयाँ नाफा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ चैत्र २०७८, बुधबार  ०० : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।