आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी वैशाख १४ गते चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनी सञ्चालक समितिको चैत २१ गते बसेको बैठकले उक्त मितिमा होटेल ‘र्याडिसन’ लाजिम्पाटमा बिहान ११ बजे साधारण सभा डाक्ने निर्णय गरेको हो ।
लाभांश वितरण गर्ने कुनैपनि प्रस्ताव नरहेको सभामा सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने र अन्य संस्थासँग मर्जर तथा प्राप्तीमा जान सञ्चालक समितिलाई अख्तियारी दिने प्रमुख प्रस्तावहरु राखेर सभा बोलाइएको छ ।
नयाँ जीवन बीमा कम्पनीको रुपमा स्थापित यस कम्पनीले सभाको विशेष प्रस्तावमा जारी पूँजीको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको बीमा समितिबाट विसं २०७४ साल असार २० गते इजाजत प्राप्त गरी २०७४ साल भदौ १ गतेदेखि कारोबार सुरु गरेको थियो ।
त्यसैगरी सभाले अन्य कुनै जीवन बीमा कम्पनी गाभ्ने, गाभिने वा प्राप्ति गर्न आवश्यक भएको अवस्थामा सोसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ ।
सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि सभाले पारित गर्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया